Trending :
 

ईपीजीे प्रतिवेदन भारतले स्वीकार गर्दैन् : जोली

मंसिर १४,२०७५

-

 मंसिर १४,२०७५ काठमाडौं। 
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्ट सार्थक नभएकोले भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन् । 
 
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता जोलीले यस्तो बताएका हुन् । 
 
उनले भने,‘ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षहरुसँग कुनै छलफल नै गरिएन् ।
 
नागरिक समाज, पत्रकार, राजनीतिकर्मीहरु, शिक्षाकर्मी, विद्यार्थी नेताहरु र उद्योगपतिहरुको तहमा प्रतिवेदन बनाउनेबारे कुनै छलफल गरिएन् । 
 
यस्ता सम्बन्धित पक्षसँग छलफल नै नगरी बनाईएको प्रतिवेदनको कुनै सार्थकता छैन् । ऋषिजी पनि नेपाल–भारत सम्बन्धका जानकार हुनुहुन्छ । म सोध्न चाहन्छु के ईपीजीका सदस्यहरुले उहाँसँग राय लिनुभएको त ? सायद छैन होला ।’
 
उनले आफू ईपीजीका भारत र नेपाल दुवै तर्फका सदस्यहरुको काम गराइबाट पूर्णतः असन्तुष्ट रहेको गुनासो पोखे । जोलीले भने,‘यो प्रतिवेदन सार्थक छैन र मान्य पनि छैन। प्रबुद्ध समूहबाट जे कुरा अपेक्षा गरिएको थियो, त्यो उनीहरूले पूरा गरेका छैनन्। बन्द कोठाभित्र बसेर बनाइएको प्रतिवेदनले दुई देशको सम्बन्धलाई अघि बढाउन सक्दैन।’
 
नेता जोलीले आफू विगत १८ वर्षदेखि नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे जानकार रहेको र आफ्नो नेपालसँग अति नै निकट सम्बन्ध रहेको सुनाए । तर, ईपीजीका सदस्यहरुले आफूसँग प्रतिवेदन तयार पार्दा कुनै छलफल र राय नै नलिएको गुनासो पोखे । 
 
उनले भने,‘बन्द कोठाभित्र कुनै एउटा सिद्धान्तको आधारमा रिपोर्ट बनाउँदैमा समस्याको समाधान कसरी हुन्छ ? मसँग उहाँहरुले कुनै छलफल र राय तथा सुझाव लिन पनि आवश्यक सम्झिनुभएन् । कुनै एक सिद्धान्तविशेषमा बनाईएको प्रतिवेदन सार्थक हुँदैन् ।’
 
रिपोर्टसम्बन्धी सम्बन्धित पक्ष र विपक्षसँग पनि ईपीजीका सदस्यहरुले छलफल र विचार विमर्श नगरेकोमा उनले आक्रोश पोखे । 
 
उनले भने,‘चाहे त्यो वाटर ट्रिटीको कुरा होस् वा ईन्फास्ट्रक्चरको कुरा होस, या हाईड्रोको कुरा नै किन नहोस् वा अन्य सम्बन्धित क्षेत्रको बारेमा नै किन नहोस् यससम्बन्धी एक्टिभ प्लेअर्सहरुसँग वार्ता भएन् । यसमा मेरो गहिरो दुःख छ । ईपीजीले प्राथमिक कुराहरु नै पूरा गर्न सकेन । 
 
यो मेरो आलोचना होईन, तर यसलाई उहाँहरुले ‘कन्स्ट्रक्टिभ–सजेशन’को रुपमा लिनुपर्छ।’
पूरा विश्वले नेपाललाई प्यार गरिरहेको सुनाउँदै उनले आफूहरुले पनि नेपाललाई त्यतिकै माया र सम्मान गरिरहेको सुनाए । 
त्यस्तै कार्यक्रममा भारतका साउथ दिल्ली म्युनिसिपल कर्पोरेशनका मेयर नरेन्द्र कुमार चावलाले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर, सुदृढ र मजबुद रहेकोले आगामी दिनमा यसलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए । 
मेयर चावलाले नेपालको विकास र समृद्धिमा भारतको सँधै सहयोग र साथ रहनेपनि विश्वास दिलाए । उनले भने,‘हामी नेपालको विकासमा स्टा«ेङ पार्टनर बन्छौं ।’ उनले विद्यमान राजनीतिक, सामाजिक–सांस्कृतिक, पानी, सरसफाई, महिला सशक्तिकरणलगायत सबैखाले चूनौतिहरुको दुवै देश मिलेर सामना गर्नुपर्नेपनि जोड दिए ।