नेपाल एयरलाइन्सको एक मात्रै बोइङ लिलामीको तयारी !
-
मंसिर १९,२०७५ काठमाडौं ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को एक मात्रै बोइङ आगामी फेब्रुअरीसम्म मात्रै चल्ने भएको छ । निगमले आफ्नो अन्तर्राष्ट्रिय उडान भरिरहेको एउटा मात्रै बोइङ ७५७-२०० मूल्यांकन गरेर त्यसको रिपोर्ट लिएको छ । यसले गरेको मूल्यांकनका आधारमा अब केही समयभित्रै लिलामीको सूचना जारी हुनेछ ।
स्वीटजरल्याण्डबाट आएको फिन्टेक कम्पनीको टोलीले लिलामीका लागि बोइङको मूल्यांकन गरेको हो । फिन्टेकले रिपोर्ट दिएको र अब केही समयभित्रै लिलामीका लागि सूचना प्रकाशित गर्ने योजना रहेको निगममा प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।
निगमले बेच्ने तयारीका साथ नै यो बोइङको मूल्यांकन गराएको हो । निगमले अब बोइङ छाडेर एयरबसलाई आफ्नो सारथि बनाउने निर्णय गरिसकेको छ ।
तीन दशक अघि अमेरिकी कम्पनी बोइङले नेपालमा डेलिभरी गरेको विमान अब पुरानो भएको र सञ्चालन खर्च उच्च रहेको भन्दै बेच्न लागिएको हो । अहिलेसम्म यो बोइङले अन्तर्राष्ट्रिय उडान भरिरहेको छ । हाल भने यो बोइङ बिग्रिएका कारण मलेसियामा मर्मतमा छ ।
‘यो विमान आगामी फेब्रुअरीसम्म मात्रै चलाउने योजना छ । त्यसपछि यसलाई लिलामी गरेर बेच्छौं,’ उनले भने,’यदि फेब्रुअरीपछि पनि चलाइरहने भए विमान सी-चेककका लागि पठाउनपर्छ ।’ विमानमको १८-१८ महिनामा सी-चेक गराउनुपर्ने प्रावधान छ । तर, अब बोइङ चलाइरहने पक्षमा निगम छैन ।
१९० सिट क्षमताको यो विमान बेच्न अब निगमले ग्लोबल टेण्डरमार्फत बिक्री खुला गर्नेछ । सबैभन्दा बढी आर्थिक प्रस्ताव गर्ने कम्पनीले बोइङ लैजान पाउनेछ ।
बोइङ हालको प्राविधिक अवस्था, इन्जिनको स्थिति लगायतका बारेमा रिपोर्टमा उल्लेख भएपनि निगमले त्यसबारे खुलाउन चाहेको छैन । ‘यो विमान उडाउन योग्य नै छ, तर, अब हामी भने यसलाई विक्री गर्ने प्रक्रिया सुरु गर्दैछौं,’प्रवक्ता सिग्देलले भने,’यसअघिकै निर्णयअनुसार विमान बिक्री गर्न लागिएको हो ।’
बिक्रीको तयारीमा रहेको बोइङले अहिले दिल्ली, बैंगलोर, मुम्बई, हङकङ, क्वाललाम्पुर, बैंकक, दोहा र दुबईमा उडान भर्दैछ ।
निमगले हालसम्म बोइङ हटाउने योजनाका साथ ४ वटा एयरबस भित्र्याइसकेको छ । जसमा दुई वटा वाइडबडी छन् भने दुई वटा न्यारोबडी छन् ।
यसअघि एउटा बोइङ निगमले नेपालकै भवन भट्टको बीबी एयरवेजलाई बिक्री गरेको छ । तर, बीबी एयरवेजसँग उडान अनुमति छैन । उड्डयन नियमअनुसार किन्नसँग उडान अनुमति वा विमान स्क्र्याप गर्ने निर्णय नभई स्वामित्व हस्तान्तरण हुन सक्दैन ।
यसका कारण बीबीले किनेर चलाउने योजना बनाएको बोइङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसै थन्किएर बसेको छ ।