Trending :
 

हप्ता दिनभित्र संकट समाधान गर्ने सिरिसेनाको आश्वासन

मंसिर २०,२०७५

-

२० मंसिर २०७५ काठमाण्डौ l
 
 
कोलम्बो– श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने आश्वासन दिनुभएको छ । उहाँले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र उहाँको मन्त्रिपरिषद्लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि बुधबार राष्ट्रपति सिरिसेनाको यस्तो आवश्वासन आएको हो । 
 
 
गत सोमबार एउटा पुनरावेदन अदालतले अन्तरिम आदेश दिँदै तत्काल प्रधानमन्त्रीका रूपमा काम नगर्न राजापाक्षेलाई आदेश दिएको थियो । वैधानिकता नपाउँदासम्म राजापाक्षे र उहाँको मन्त्रिपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतले स्पष्ट पारेको छ ।
 
 
राजापाक्षेलाई काम गर्न दिएमा मुलुकमा “अपूरणीय क्षति” हुन सक्ने देखिएकाले काम गर्न रोक लगाउनु पर्ने अदालतको ठम्याइ छ । अदालतको आदेशसँगै राजापाक्षेको सरकार अन्यौलमा परेको छ भने राष्ट्रपतिबाट हटाइएका तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई सजिलो भएको छ  ।
 
 
राष्ट्रपति सिरिसेनाले देशको हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिँदै आफूले त्यसै उपाय खोजेको बताउनुभयो । मुलुक अहिले राजनीतिक सङ्कटमा पुग्नुमा आफूलाई दोषी ठानिएको प्रति असहमति राख्दै उहाँले आफू दोषी नभएको दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्था आउनुमा तत्कालीन प्रधानमन्त्री विक्रमासिङ्घे नै दोषी रहेको किटान गर्नुभयो । 
 
 
“उहाँका क्रियाकलाप र उहाँको राजनीतिले नै अहिलेको समस्या सिर्जना भएको हो, तर त्यसको समाधान हामी गर्नेछौं,” उहाँले भन्नुभयो ।  एक वक्तव्यमा राष्ट्रपति सिरिसेनाले थप्नुभयो, “अहिलेको राजनीतिक सङ्कट एक हप्तामा समाधान हुनेछ, यो पूरै समाधान हुनेछ, मैले तपाई र तपाईको मातृभूमिका लागि राम्रो हुने काम नै गर्नेछु ।” मुलुकलाई शान्तिको बाटोमा लैजान सबै राजनीतिक पार्टीहरूले हातेमालो गर्नुहुनेछ भन्ने आफूले विश्वास लिएको उहाँको भनाइ छ । 
 
 
गत अक्टोबर महिनामा राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्थ गरेर राजापाक्षेलाई नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कटसँगै विवाद चर्किँदै गएको छ । राजापाक्षेलाई गत महिना संसद्ले पनि प्रधानमन्त्रीमा अस्वीकृत गरिएको प्रस्ताव अत्यधिक मतका साथ पारित गरेको थियो । एजेंसी