Trending :
 

हुवावेकी उच्च अधिकारी मेङ वान्झाउ क्यानडामा पक्राउ

मंसिर २१,२०७५

-

२१ मंसिर २०७५ एजेंसी l 
 
 
चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका संस्थापककी छोरी तथा कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ । अमेरिकाको निर्देशनमा एक साताअघि हुवावेकी आर्थिक मामिलासम्बन्धी प्रमुख पक्राउ परेकी हुन् ।
 
 
पक्राउलगत्तै उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरूले बताएका छन् । अमेरिकाको सुरक्षा निकायको आग्रहमा मेङ पक्राउ परेकी हुन् । चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाउँदै मानवअधिकारको गम्भीर उल्लंघन भएको गुनासो गरेको छ ।
 
मेङमाथि अनुसन्धान
 
इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरूले मेङमाथि अनुसन्धान सुरु गरेको बताइएको छ । अमेरिकी गुप्तचर अधिकारीहरूले हुवावेका गतिविधिमाथि लामो समयदेखि निगरानी गरिरहेको र सो कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् ।
 
 
एसियाली सेयर बजारमा असर
 
मेङको गिरफ्तारीसँगै एसियाली सेयर बजारमा त्यसको असर देखिएको छ । साङ्घाई र हङकङको सेयर बजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ । बिहीबार मध्याह्नसम्म साङ्घाई स्टक एक्सचेन्ज एक दशमलव ३ र हङकङ स्टक दुई दशमलव ६ प्रतिशतले घटेको छ ।
 
क्यानडाको प्रस्टोक्ति
 
मेङलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको क्यानडाको न्याय मामिलासम्बन्धी मन्त्रालयले बताएको छ । मन्त्रालयले एक वक्तव्यमा सो जानकारी दिएको हो । मन्त्रालयले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरेको बताएको छ । मेङलाई हिरासतमा लिइएको विषयबारे क्यानडाका न्याय मामिला मन्त्रालयका प्रवक्ताले थप खुलाउन अस्वीकार गरे । मेङका पिता एवं हुवावेका संस्थापक रेन झेङफाई चिनियाँ जनमुक्ति सेनाका पूर्वइन्जिनियर हुन् ।
 
चीन भन्छ– मानवअधिकारको उल्लंघन
 
चीनले मेङलाई तत्कालै रिहा गर्न माग गरेको छ । ओट्टावास्थित चिनियाँ राजदूतावासले मेङलाई तत्काल रिहा गर्न माग गरेको हो । ओटावास्थित चिनियाँ दूतावासले उनले कुनै पनि अमेरिकी वा क्यानडेली कानुनको उल्लंघन नगरेको दाबी गरेको छ । मेङको पक्राउले मानवअधिकारको गम्भीर उल्लंघन भएको पनि चीनले जनाएको छ ।
 
मेङको तत्काल रिहाइ हुनुपर्छ : हुवावे
 
हुवावेले कम्पनीको उच्च अधिकारी मेङलाई तत्काल रिहा गर्न सरोकारवालाहरूसँग आग्रह गरेको छ । कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘हुवावेले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ । राष्ट्रसंघ, अमेरिका र युरोपेली युनियनबाट जारी भएका प्रतिबन्धहरू एवं नियमहरूलाई पूर्ण पालना गरिएको छ ।’ एउटा हवाई उडानबाट अर्को हवाई उडानमा जाने क्रममा मेङलाई नियन्त्रणमा लिइएको सो कम्पनीले जनाएको छ । यसअघि वालस्ट्रिट जर्नलले अप्रिलमा अमेरिकी कानुन मन्त्रालयले इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लंघन गरिरहेको भन्दै छानबिन थालेको समाचार प्रकाशन गरेको थियो ।
 
बल्झियो चीन–अमेरिका विवाद
 
चीन र अमेरिकाबीच जारी व्यापारिक तनावका सन्दर्भमा तीनमहिने सम्झौता गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ । दुवै देशका व्यापार मध्यस्थकर्ताहरूमाथि तीन महिनाभित्र असमझदारीहरू हटाउनुपर्ने गहन जिम्मेवारी छ । तर, मेङको पक्राउले दुई देशबीच सुध्रिन लागेको सम्बन्धमा तिक्तता आउने देखिन्छ ।
 
 
‘चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई बेवास्ता गरिरहेको छ, यस्तो अवस्थामा अमेरिका तथा हाम्रा गठबन्धन राष्ट्रहरू टुलुटुलु हेरेर बस्न सक्दैनन्,’ अमेरिकी सिनेटर बेन सास्सेले भने । उनले भने, ‘चिनियाँ अतिक्रमण कहिलेकाहीँ सरकार प्रायोजित देखिन्छ भने कहिलेकाहीँ चीनका निजी कम्पनीहरूले यो कार्य गरिरहेका छन् ।’ अमेरिकी सांसदहरूले हुवावेका उत्पादन चिनियाँ सरकारद्वारा जासुसीका लागि प्रयोग भएको दाबी गर्दै आएका छन् । एजेंसी