चार दिनमा खिचियो चलचित्र रणवीरको 'तिरिमिरी' बोलको गीत
-
२४ मंसिर २०७५ काठमाण्डौ l
एक्सन लभस्टोरी फिल्म रणवीरमा समावेश तिरिमिरी तिरिमिरी तीनतारा बोलको गीत चार दिन लगाएर खिचिएको छ ।
नक्साल, बालमन्दिरमा सेट लगाएर खिचिएको सो गीतमा झन्डै २५ लाख खर्च भएको निर्माण पक्षको दाबी छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा अभिनेता सुशील सिटौला, अभिनेत्रीद्वय शुभेच्छा खड्का र सुपुष्पा भट्टलाई मौलिक नेपाली पहिरनमा प्रस्तुत गरिएको छ । राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वरमा रहेको गीत केही दिनपछि सार्वजनिक गरिनेछ ।
माघ १८ गते प्रदर्शनमा आउने रणवीर गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् । दीपेन्द्र रेग्मी र गोमा थापा विष्ट निर्माता रहेको फिल्ममा सुशील, शुभेच्छा, सुपुष्पाका साथमा प्रशान्त ताम्राकार प्रमुख भूमिकामा छन् । फिल्मको टिजर केही दिनअघि सार्वजनिक गरिएको थियो ।