बोधकथा

आखिर मृत्यु भय किन? प्राचीन बोधकथा!

यो शरीर त अवश्यै मर्छ,मर्नको लागी प्रत्येक मानवलाई हर क्षण तयार रहनुपर्छ

मंसिर २६,२०७५

-माधव प्रसाद गर्तौला

२६ मंसिर २०७५ काठमाण्डौ l

 

राजा परीक्षितलाई भागवत सुनाउँदै जब शुकदेवको छ दिन व्यतीत भयो र सर्पले टोकेर मृत्यु हुने एकदिन मात्रै बाँकी रह्यो तब पनि राजाको शोक र मृत्यु भय नष्ट भएनl कातर भावले आफ्नो मर्ने घड़ी निकट आउँदै देखेर राजा निकै क्षुब्ध भैरहेका थिएl

 

राजा परीक्षितको यस्तो अवस्था देखेर शुकदेवजीले एउटा कथा सुनाए- राजन्! धेरै समय पहिलेको कुरा होl एकजना राजा शिकार खेल्नको लागी जंगलमा गयोl संयोगवश मार्ग भट्किएर भयंकर घना जंगलमा पुग्यो, रात पर्योl वर्षा हुनलाग्योl सिंह, व्याघ्र आदि जनावरहरुले भयानक गर्जना गर्न लागेl राजा एकदमै डरायो र किंकर्तव्यविमूढ़ भई रात बिताउनको लागी विश्राम स्थल खोज्न लाग्योl केही दूरिमा उसले दीपकको प्रकाश देख्योl त्यहाँ पुगेर उसले एउटा अत्यन्तै फोहोरी बिरामी बहेलियाको झोपड़ी देख्योl ऊ हिँडडुल गर्न सक्दैनथ्यो त्यसैले झोपड़ीकै एउटा कुनामा मल-मूत्र त्याग्ने स्थान बनाएको थियोl खानको लागी मरेका जनावरहरुको मासु झोपड़ीको छतमा झुण्ड्याएको थियोl अति फोहोरी, सानो, अँध्यारो र दुर्गन्धयुक्त त्यो कोठा थियोl त्यसलाई देखेर राजा पहिले त स्तब्ध भयो तर उसले अरु कुनै आश्रय नदेखेर विवशतावश त्यस बहेलियासंग आफ्नो कोठामा रातभर विश्राम गर्न दिनको लागी प्रार्थना गर्योl

बहेलियाले भन्यो- “आश्रय हेतु केही भट्किएका यात्री कहिले-काहीं यहाँ आउने गर्छन् र म उनिहरुलाई यहाँ स्थान दिने गर्छुl तर अर्को दिन जाने बेलामा निकै झंझट गर्छन्l यस झोपड़ीको गंध उनिहरुलाई यति धेरै मन पर्छ कि फेरी यसलाई छोड्नै चाहँदैनन्l यसैमा बस्ने कोशिश गर्छन् र आफ्नो कब्ज़ा जमाउन थाल्छन्l यस्तो झंझटमा म धेरै पटक परिसकेको छुl अब यसमा कसैलाई पनि विश्राम गर्न दिने गरेको छैन, तपाईंलाई पनि दिन्नl” राजाले प्रतिज्ञा गर्यो, कसम खायो कि भोली बिहानै यस झोपड़ीलाई अवश्य नै खाली गर्दिनेछl उसको काम त धेरै ठुलो छ, यहाँ त संयोगवश आइपुगेको होl केवल एकरातको कुरा होl

 

बहेलियाले अन्यमनस्क भएर राजालाई झोपड़ीको एउटा कुनामा विश्राम गर्ने आज्ञा दियोl, तर भोली बिहानै बिना कुनै झंझट गरी झोपड़ी खाली गर्दिनको लागी पुन: स्मरणपनि गरायोl राजा एउटा कुनामा बसिरह्यो, रातभर त्यहीं सुत्योl राती सुतिरहेको अवस्थामा झोपड़ीको दुर्गन्ध उसको मस्तिष्कमा यसरी बस्यो कि बिहान उठेपछि राजालाई त्यही दुर्गन्ध परमप्रिय लाग्न थाल्योl आफ्नो राज-काजको सबै कुरा बिर्सियो र सँधैभरी त्यहीं निवास गर्ने कुरा सोच्न थाल्योl

 

प्रातःकाल जब राजाले त्यहीं बस्नदिन आग्रह गर्न थाल्यो तब बहेलियाले रातो-पिरो आँखा निकाल्यो र झंझट शुरू भयोl झंझट बढ्दै गयोl झंझटले उपद्रव र कलहको रूप धारण गर्योl राजा मर्न-मार्नमा उतारु भयोl उस (झोपड़ी) लाई छोड्नमा धेरै कष्ट र शोक अनुभव गर्न लाग्योl   

 

शुकदेवजीले सोधे- परीक्षित! बताऊ, त्यस राजाको लागी के यो झंझट उचित थियो? परीक्षितले भने-“भगवन्! त्यो कुन राजा थियो, उसको नाम त बताउनुहोस्l ऊ त अतिनै मुर्ख पो रहेछ, त्यस्तो फोहोरी कोठामा आफ्नो प्रतिज्ञा तोड़ेर, संपूर्ण राज-काज छोडेर नियत अवधिभन्दा पनि अधिक बस्न चाहन्थ्योl उसको मुर्खतामा त मलाई पनि क्रोध आउँदैछl”

 

शुकदेवजीले भने- परीक्षित! त्यो अरु कोही होइन तिमी स्वयं हौl यस मल-मूत्रको कोठा देहमा जति समय तिम्रो आत्मालाई निवास गर्न आवश्यक थियो त्यो अवधि भोली पूरा हुँदैछl अब त्यस लोकमा जानुछ जहाँबाट तिमी आएका थियौl यसमा पनि तिमी झंझट फैलाउँदैछौ! मार्न चाहँदैनौ तर मर्ने शोक गर्छौ! के यो उचित हो?

राजा परीक्षितले कथाको मर्मलाई आफुमाथि आरोपित गरे एवं मृत्यु भयलाई त्याग्दै मानसिकरूपले निर्वाणको तयारी गरेl अंतिम दिनको कथाश्रवण उनले एकाग्रचित्त भएर सुनेl

वस्तुतः मर्नको लागी प्रत्येक मानवलाई हर क्षण तयार रहनुपर्छl यो शरीर त अवश्य नै विनष्ट हुन्छl यसर्थ जीवनप्रतिको सम्पूर्ण भयलाई विसर्जित गरी निर्भयतापूर्वक शुभकर्म गर्दै बाँच्नुनै श्रेयस्कर होl