काठमाडौंमा वायु प्रदूषण:
मर्निङ र इभिनिङ वाक नगर्न विशेषज्ञको सुझाव
-
पुष १,२०७५ काठमाडौं ।
सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको छ ।
सन् २०१७/१८ को १२ महिनाको आँकडाअनुसार काठमाडौंको रत्नपार्कमा मापदण्डभन्दा ४ गुणा बढीसम्म पीएम २.५ र त्योभन्दा साना धुलोका कण रेकर्ड भएको छ। पीएम २.५ को मात्रा सन् २०१७ मा प्रतिघनमिटर हावामा १ सय ३२ र सन् २०१८ मा प्रतिघनमिटर हावामा १ सय ३६ माइक्रोग्रामसम्म रेकर्ड भएको हो।
यो आँकडा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डभन्दा झन्डै ६ गुणा बढी हो। डब्लूएचओले पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २५ माइक्रोग्राम (२४ घण्टाको औसत) मापदण्ड तोकेको छ।
सरकारले पनि २.५ माइक्रो मिटर वा सोभन्दा कम व्यास भएका धूवाँ र धुलोका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा ४० माइक्रो ग्रामभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको छ। विकसित देशमा वायुको गुणस्तर मापदण्डभित्रै सीमित हुने गरेको छ।
आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छन्। क्यान्सरसमेत निम्त्याउन सक्ने केमिकल मिसिएका यी कणले रक्तसञ्चार प्रणाली र मुटुलाई आघात र्पुयाउने जानकारहरू बताउँछन्।
वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरेका स्वास्थ्य अनुसन्धान परिषदका डा. खेमबहादुर कार्कीका अनुसार सुक्खायाममा झनै २.५ माइक्रो मिटर र त्योभन्दा साना कण धेरै समयसम्म वायुमण्डलमा तैरिएर बस्ने गरेकाले बिहान र बेलुकीको समयमा हिँडडुल गर्नु घातक हुन्छ।
‘हिँडडुल गर्ने क्रममा पीएम २.५ व्यास र त्योभन्दा साना कण सिधै फोक्सोमा छिर्ने भएकाले चिसो याममा मर्निङ र इभिनिङ वाक नगर्नु राम्रो हुन्छ,’ कार्कीले भने, ‘मुटु र फोक्सोका रोगीलाई झन् घातक हुन्छ।’
वायु प्रदूषणको अवस्था थाहा पाउन काठमाडौंमा ७, पोखरामा २, नेपालगन्ज, भक्तपुर, दाङ, सुनसरी, सिमरा, लुम्बिनी र धुलिखेलमा गरी १९ वटा वायु गुणस्तर मापन केन्द्र राखिएको छ।
तीमध्ये १४ वटा वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभाग र अरू अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा अमेरिकी दूतावासको सहयोगमा सञ्चालन भएका छन्।
सबै मापन केन्द्रको आँकडा सरकारले तोकेको र डब्लूएचओको मापदण्डभन्दा बढी छ। जानकारहरू चिसोसँगै वायु प्रदूषण पनि बढदै जाने बताउँछन्। चिसो याममा श्वासप्रश्वास, रूघाखोकी, दम तथा निमोनियाजस्ता रोगीको संख्या अस्पतालमा बढ्ने गरेको पाइन्छ।
काठमाडौं उपत्यकामा वायु प्रदूषणको वहन क्षमतामा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रामप्रसाद रेग्मीले जाडोयाममा काठमाडौंको वायुमण्डलमा प्रदूषण बहन क्षमता न्यून हुने जानकारी दिए। ‘यही अवधिमा वायु प्रदूषण उत्सर्जनका गतिविधि भने बढी हुन्छ,’ उनले भने।
रेग्मीका अनुसार उपत्यकावरिपरिको होचो क्षेत्रले वायु प्रवाहलाई आफूतिर खिच्ने गर्छ। उपत्यकाको वायुमण्डलमा तल्लोभन्दा माथिल्लो सतह तातो हुन्छ।
‘यस्तो अवस्थामा उत्सर्जित वायु प्रदूषण आकाशतिर फिँजिन पनि नसक्ने र उडेर उपत्यकाबाट बाहिरिन पनि नसक्ने भएकाले प्रदूषणको मात्रा अत्यधिक बढ्न पुग्छ,’ उनी भन्छन, ‘बिहानको समयमा सबैभन्दा उच्च हुने गरेको छ।’ मध्याह्नतिर सतहको प्रदूषणको मात्रा विस्तारै घट्न थाल्छ।
रेग्मीका अनुसार वागमती नदीको तीरैतीर तराईबाट दक्षिण–पश्चिमी, थानकोट र भीमढुंगा भन्ज्याङ हुँदै धादिङबाट तथा मुड्खु र तीनपिप्ले भन्ज्याङ हुँदै त्रिशूली उपत्यकाबाट उत्तर–पश्चिमी हावा काठमाडौं प्रवेश गर्छ। ‘काठमाडौं उपत्यका घेर्ने डाँडाहरूको ठीकमाथि स्थिर किसिमको वायुमण्डलीय सतह बन्ने गर्छ,’ उनी भन्छन, ‘त्यसले उपत्यकालाई बिर्को लगाएजस्तै गरी प्रदूषण आकाशतिर फिँजिएर जाने प्रक्रियालाई रोक्छ।’ त्यस्तो अवस्थामा उत्सर्जित वायु प्रदूषण उपत्यकाभित्र जम्मा हुन थाल्छ।
६ महिनाअघि वातावरण विभाग तथा त्रिभुवन विश्वविद्यालयको नारेल प्रयोगशालाको सहकार्यमा विशेषज्ञ परिचालन गरी ‘काठमाडौं उपत्यका तथा लुम्बिनी क्षेत्रमा उत्सर्जित वायु प्रदूषण डिस्पर्सन मोडेलिङ एवं नियन्त्रण पद्धति विकास’ सम्बन्धी अनुसन्धान गरिएको थियो।
उक्त अनुसन्धानको प्रतिवेदनमा काठमाडौं उपत्यका तथा लुम्बिनी क्षेत्रको वायुमण्डलीय अवस्था, वायु प्रदूषण उत्सर्जनका गतिविधि एवं वायु प्रदूषण प्रसार तथा विस्तार प्रक्रियालाई मापदण्डभित्र ल्याउन स्पष्ट बाटो देखाइदिएको छ।
काठमाडौंको हकमा सुन्धारालाई केन्द्रविन्दु मानेर चारैतिर ७०-७० किलोमिटर क्षेत्रफलमा भइरहेका वायु प्रदूषणका स्रोतका आधारमा प्रतिवेदन तयार गरिएको छ। उक्त अनुसन्धानको नेतृत्व प्राध्यापक रेग्मीले नै गरेका थिए। अनुसन्धानमा जापान र जर्मनीका विशेषज्ञसमेत संलग्न थिए। कान्तिपुर