जाडोमा सताउन सक्छ यी ५ रोगले, जान्नुहोस् बच्ने उपाय
-
२ पौष २०७५ काठमाण्डौ l
मौसम चिसिंदै छ। पुस पनि लागिसक्यो। खासगरी अबका दुई महिना जाडो उत्कर्षमा पुग्नेछ।
चिसो मौसमका बारेमा मानिसहरुका आ-आफ्नै धारणा हुन्छन्। कसैले मन पराउँछन् भने कसैलाई मन पर्दैन। जाडोमा आफूलाई न्यानो र तातो बनाएर परिवारसँग समय बिताउन त रमाइलो नै हुन्छ तर यो मौसमले विभिन्न रोगहरु पनि लिएर आँउछ।
जाडोमा रुघाखोकी जस्ता सामान्य रोगहरु मात्रै लाग्ने त हो नी भन्ने सोच्नुहुन्छ भने तपाईं बिल्कुल गलत हुनुहुन्छ। यो मौसमले विभिन्न प्राणघातक रोगहरु पनि लिएर आएको हुन्छ। आउनुहोस्, जाडोमा धेरैलाई सताउने रोगहरु र त्यसबाट कसरी जोगिने भनेर जानिराखौं-
१. हृदयघात
हामीमध्ये धेरैलाई यो कुरा थाहा नहुन सक्छ कि जाडो मौसममा हृदयघातको खतरा बढि हुन्छ। जब तापक्रम घट्दै जान्छ रगत बग्ने धमनीहरु संकुचित हुँदै जान्छन्। यसले मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ।
विशेषज्ञका अनुसार ३० वर्षभन्दा धेरै उमेरका मानिसहरुले चिसो मौसममा आफूलाई आवश्यकता भन्दा धेरै थकाउनु हुँदैन। चिसो बिहानमा घुम्नुको सट्टा घाम लागेको स्थानमा बसेर आफूलाई सेक्नुहोस। आवश्यकताभन्दा धेरै भोजन नगर्नुहोस्।
२. दमको आक्रमण
यदि तपाईं दमको रोगी हुनुहुन्छ भने तपाईंलाई जाडो मौसममा दम धेरै बढेको महसुस भएको हुन सक्छ। यस्तोमा चिसो र सुख्खा हावाले वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ।
त्यसैले जाडोमा आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नुपर्छ। आफ्नो घरलाई धुम्रपान मुक्त राख्नुहोस्। किनभने यसले दमको रोगीलाई निकै गाह्रो बनाउँछ। साथै हप्तामा कम्तीमा एकपटक आफ्नो ओछ्यान धुनुहोस्।
३. छाला चिलाउने
चिसो समयमा मानिसहरुले सामना गर्ने सबैभन्दा आम समस्यामध्ये एक छाला चिलाउनु पनि हो। चिसोमा कम आद्रताको कारण छाला चिलाउन थाल्छ।
यसबाट बच्नको लागि तपाईंले छालामा बदाम, नरिवल वा जैतुनको तेलले मालिस गर्न सक्नुहुन्छ। त्यस्तै चिल्लो स्टि्रट फूड खानबाट बँच्नुहोस्। छाला चिलाउने समस्याबाट मुक्त हुने सख्खरको चिया पनि पिउन सक्नुहुन्छ।
४. जोर्नी दुख्ने
शीतकालिन मौसममा जोर्नीको दुखाईबाट धेरै मानिसहरु पिडित हुन्छन् । यसबाट राहत पाउनको लागि सबैभन्दा पहिले आफ्नो शरीर र खुट्टालाई न्यानो राख्नुपर्छ ।
त्यसैले एक जोर न्यानो कपडा लगाउनुको सट्टा दुई-तीन जोर पातलो कपडा तीन जोर लगाउनुहोस् । चिसोको समयमा जोर्नीको दुखाई र मांसपेसीको दुखाईबाट बँच्नको लागि व्यायाम गर्नुपर्छ । घाम ताप्नेले पनि यो समस्याबाट राहत पाइन्छ ।
५. साइनसाइटिस
टाउको दुख्ने, रुघाखोकी आदि चिसोमा हुने आम समस्या हुन् । साइनसाइटिसको समस्या त्यतिखेर हुन्छ जब घर बन्द हुन्छ र कुनै उचित भेन्टिलेसन हुँदैन ।
यो मौसममा साइनसाइटिसबाट टाढा रहनको लागि तपाइर्ंले पर्याप्त मात्रामा आराम गर्नुपर्छ । त्यस्तै स्वस्थ भोजन गर्नुहोस्, चिसोबाट बच्नुहोस् र धेरै तरल पदार्थ खानुहोस् । यसैगरी धुलोबाट पनि टाढै रहनुहोस् ।