अध्यात्म चिन्तन

आफ्नो वास्तविक स्वरूप नजान्नाले नै मनुष्यको दुर्गति

शरीरभावमा मनुष्य यति धेरै तल्लीन भएको छ कि स्वयंलाई शरीर नै सम्झिन थालेको छ

पौष ०२,२०७५

-माधव प्रसाद गर्तौला

२ पौष २०७५ काठमाण्डौ l 

 

क: काल: कानि मित्राणि को देश: कौ व्ययागमौl

कश्चाहं का च मे शक्तिरीतिचिन्त्यं मुहुर्मुहु:l l (चाणक्य)

 

अर्थात् प्रत्येक मनुष्यले कुन समय हो, मेरा मित्र कुन हुन्, शत्रु कुन हुन्, कुन देश (स्थान) मेरो हो, मेरा आय-व्यय के-के हुन्, म को हूँ, मेरो शक्ति कती छ? इत्यादि कुराहरुको बार-बार विचार गरिरहनुपर्दछl

 

समस्त ज्ञानीहरुले ज्ञानको एउटै स्वरूप बताएका छन्, त्यो हो “आत्मबोध”l आफ्नो सम्बन्धमा पूरा जानकारी प्राप्त गरिसकेपछि अरु केही जान्न शेष रहँदैनl वास्तवमा जीव ईश्वरकै अंश होl विचारहरुमा बाँधिएर ऊ अल्पज्ञ, अज्ञानी देखिन्छ, तर उसभित्र अमूल्य निधि भरिएको छl शक्तिको ऊ केंद्र हो र त्यो शक्ति यति धेरै छ कि जसको हामी कल्पना समेत गर्न सक्दैनौंl सारा कठिनाई र दुःख यसै कारण छ कि हामी स्वयंलाई जान्दैनौंl जब आत्मस्वरूप लाई जान्दछौं, तब कुनै पनि प्रकारको  कष्ट बाँकी रहँदैनl

 

आत्मस्वरूपको अनुभूति गरिसकेपछि उसले भन्दछ-

नाहं जातो जन्म मृत्यु कुतो मे,

नाहं प्राण: क्षुत्पिपासे कुतो मेl

नाहं चित्तं शोक मोहौ कुतो मे,

नाहं कर्ता बन्ध मोक्षौ कुतो मेl l

 

अर्थात् म उत्पन्न भएको होइन, फेरी मेरो जन्म-मृत्यु कसरी? म प्राण होइन, फेरी मलाई भोक-प्यास कसरी? म चित्त (मन) होइन, फेरी मलाई शोक-मोह कसरी? म कर्ता होइन, फेरी मेरो बन्ध-मोक्ष कसरी?

 

जब उसले बुझ्दछ कि म के हूँ, तब उसलाई वास्तविक ज्ञान हुन्छ र सम्पूर्ण पदार्थहरुको रूपलाई राम्रोसंग हेरेर उचित उपयोग गर्दछl चाहे जुनसुकै दृष्टिले हेरेपनि आत्मज्ञान नै सर्वसुलभ र सर्वोच्च ठहरिन्छl

 

कुनै व्यक्तिलाई सोधियो भने कि तपाईं को हो? तब उसले आफ्नो नाम, वर्ण, कुल, व्यवसाय, पद या सम्प्रदायको परिचय दिन्छl म ब्राह्मण हूँ, गर्तौला हूँ, पोख्रेल हूँ, पौडेल हूँ, अध्यापक हूँ, वैष्णव हूँ आदि उत्तर हुन्छन्l अधिक सोधियो भने आफ्नो निवासस्थान, वंश-व्यवसाय आदिको अधिकाधिक विस्तृत परिचय दिन्छन्l प्रश्नको उत्तरको लागी यी सबै वर्णन हुन् यहाँसम्म त ठीक छ तर उत्तर दिनेवालाले यथार्थमा पनि आफुलाई त्यस्तै नै सम्झिन्छ, यो अतिनै दुःखद कुरा होl शरीरभावमा मनुष्य यति धेरै तल्लीन भएको छ कि स्वयंलाई शरीरनै मान्न थालेको छl

 

नाम, वंश, व्यवसाय या पद शरीरको हुन्छl शरीर मनुष्यको परिधान (वस्त्र), उपकरण होl तर भ्रम, अज्ञानको कारण मनुष्य स्वयंलाई शरीर नै मान्छ र शरीरको स्वार्थ तथा आफ्नो स्वार्थलाई एकसमान गर्दछl यसै भ्रांतिमा जीवन अनेक अशान्ति, चिन्ता, दुःख, व्यथाहरुको घर बन्न जान्छl

 

मनुष्य शरीरमा रहन्छ, यो ठीक हो, तर योपनि उत्तिकै ठीक हो कि ऊ शरीर होइनl जब प्राण निस्किन्छ तब शरीर जस्ताको त्यस्तै बनिरहन्छ, उसबाट कुनै वस्तु घट्दैन तरपनि ऊ मृत भएर बेकार हुन्छl उसलाई केही समय त्यत्तिकै छोड़ियो भने उसबाट दुर्गन्ध आउन थाल्छ र किरापनि पर्न थाल्छl शरीर त्यही हो, जस्ताको त्यस्तै छ, तर प्राण निस्कने बित्तिकै उसको दुर्दशा हुन थाल्छl यसले प्रगट हुन्छ मनुष्य शरीरमा निवास त गर्दछ तर वस्तुतः ऊ शरीरबाट भिन्न छl यसै भिन्न सत्तालाई “आत्मा” भनिन्छl वास्तवमा यही मनुष्य होl यसको सही उत्तर हो कि म आत्मा हूँl

 

शरीर र आत्माको पृथकताका कुरा हामीले सुनेका छौंl सिद्धान्तत: हामी यसलाई मान्दैपनि आएका छौंl शायद कसैले यस्तो विरोध गरेपनि कि शरीरसंग आत्मा पृथक छैन, यस पृथकताको मान्यता सिद्धान्तरूपले जसरी सर्वसाधारणलाई स्वीकार छ, त्यसरी नै व्यवहारमा सबैले यसलाई अस्वीकार गरेका छन्l मानिसहरुको व्यवहार यस्तो हुन्छ कि मानौं उनिहरु वस्तुतः शरीर नै हुन्l शरीरको हानी-लाभ उनकै हानी-लाभ हुन्l कुनै व्यक्तिको सूक्ष्मतासंग निरीक्षण गरी हेरियो भने कि उसले के सोच्छ? के भन्छ? के गर्छ? तब ज्ञात हुन्छ कि ऊ शरीरकै बारेमा सोच्छ, उसकै बारेमा सम्भाषण गर्छ र जे गरेपनि शरीरकै लागी गर्छ, शरीरलाई नै उसले “म” मानेको छl   

 

शरीर आत्माको मन्दिर होl उसको स्वस्थता, स्वच्छता र सुविधाको लागी कार्य गर्नु उचित एवं आवश्यक छ, तर यो अहितकर छ कि केवल मात्र शरीरको बारेमा नै सोचिरहनु, उसलाई आफ्नो स्वरूप नै मानिलिनु र आफ्नो वास्तविक स्वरूपलाई नै बिर्सिदिनु! मनुष्यले आफुलाई शरीर मान्नाले शरीरको हानी-लाभलाई पनि आफ्नै हानि-लाभ भएको मानेर स्वयंको वास्तविक हितलाई बिर्सिदिन्छl यो भूल-भुलैयाको खेलले जीवनलाई धेरै नै कर्कश र नीरश बनाइदिन्छl