पौष ०३,२०७५
-आस्था न्यूज
३ पौष २०७५ काठमाण्डौ l
मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको हो। अत: यो तिथि गीता जयंतीका नामबाट पनि विख्यात छ। यस दिनदेखि गीता-पाठको अनुष्ठान प्रारम्भ गर्नुपर्छ तथा प्रतिदिन यथासंभव गीता पढ्नुपर्छ। गीतारूपी सूर्यको प्रकाशद्वारा अज्ञानरूपी अन्धकार नष्ट हुन्छ। आज गीता उपदेशको पुस्तक श्रीमद्भगवद्गीता सहित भगवान श्रीकृष्ण र वेदव्यासको पनि भक्तिपूर्वक पूजा-आराधना गरिन्छ।
श्रीमद्भगवाद्गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो। यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एउटा सानो ग्रन्थ हो। यसमा १८ अध्याय छन्। यसलाई ‘मोक्षशास्त्र’ पनि भनिन्छ।
श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो। जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ, त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडी आईपरेको समस्यादेखि डराएर आफ्नो क्षत्रीय धर्मदेखि विमुख हुन्छन्।
समस्या हर व्यक्तिलाई आइपर्ने सामान्य घटना हो। यसलाई प्राचीन ऋषिमहर्षिहरूद्वारा गहन चिंतन-मनन गरेर जुन ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो। त्यही वेदको अन्तिम भागलाई उपनिषद भनिन्छ। मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो। यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदीय ज्ञान भनिन्छ। त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन महर्षि वेदव्यासले श्रीमद्भगवद्गीतामा संक्षिप्त रूपमा प्रस्तुत गरेका छन्।
त्यही श्रीमद्भगवद्गीताको संक्षिप्त सार यहाँ प्रस्तुत गरिँदै छ-
१. मोह या सुख शान्तिको अधीनमा नपर्नु।
२. शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नुl
३. निष्काम भावले परहिताय कर्तव्य कर्म गर्नु।
४. तत्वज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु।
५. संधै तितीक्षु रहनु अर्थात् सुखदुःखमा समान भावले हुनु।
६. अंत:करणमा शमता राख्नु।
७. सबैकुरा ईश्वर नै हो भनी स्वीकार्नु, सबैमा ब्रह्मभाव राख्नु।
८. संधै इश्वरको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु।
९. सबै मानिस ईश्वरप्राप्तिका अधिकारी हुन् भनी सम्झनु।
१०. विलक्षण, विशेषता, सुन्दरता, महत्ता, विद्वत्ताआदि ईश्वरकै अंश मानी ईश्वरको चिन्तन गर्नु ।
११. यो संपूर्ण चराचर जगत् ईश्वरकै स्वरूप मानेर विराटरूप ईश्वरको दर्शन गर्नुl
१२. शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई ईश्वरमा अर्पण गर्नु।
१३. संसारमा एक परमात्मतत्व नै जान्न योग्य वस्तु हो भनी जान्नु।
१४. सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्यभावले भक्ति गर्नु।
१५. एक ईश्वर मानेर अनन्यभावले उनको भजन गर्नु।
१६. जन्म, मरणको चक्रबाट छुट्न दुर्गणको त्याग गर्नु।
१७. जुनसुकै शुभ कर्म गरे पनि ईश्वरको नामस्मरण गर्दै आरम्भ गर्नुl
१८. भगवत शरणागती हुनु र भक्तिभावले ईश्वरको शरणमा पर्नु।
प्रमुख समाचार
सम्वन्धित समाचार