अमेरिकी चुनावमा रुसको संलग्नताबारे नयाँ रिपोर्ट सार्वजनिक
-
३ पौष २०७५ एजेंसी l
काठमाडौं– सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा प्रभाव पार्न रुसले गरेको प्रयासबारे नयाँ रिपोर्ट सार्वजनिक भएको छ। अमेरिकाको सिनेटले सोमवार प्रतिवेदन सार्वजनिक गरेको हो।
चुनावमा रुसले सबै महत्त्वपूर्ण सामाजिक सञ्चारमाध्यमको प्रयोग गरेको रिपोर्टमा दाबी गरिएको छ। सिनेटले सार्वजनिक गरेको प्रतिवेदनले रुसको गलत सूचनाको प्रयास कतिसम्म थियो भन्ने उदाङ्गो पारेको छ।
नयाँ अनुसन्धानले यूट्यूब, टम्ब्लर, इन्स्टाग्राम र पेपाल साथसाथै फेसबुक र ट्वीटर प्रचारप्रसार फैलाएर फाइदा लिनका लागि प्रयोग भएको जनाएको छ। उक्त रिपोर्टका लेखकहरूले प्रविधिसम्बन्धी कम्पनीहरूले ढिला र असंगठित ढंगले जनाएको प्रतिक्रियाको आलोचना गरेका छन्।
उक्त रिपोर्ट अक्स्फर्ड विश्वविद्यालयको ‘कम्प्यूटेशनल प्रोपोगाण्डा प्रोजेक्ट’ र सामाजिक सञ्जालको विश्लेषण गर्ने कम्पनी ‘ग्राफिका’ले संयुक्त रुपमा तयार गरेको हो। फेसबुक, ट्वीटर र गुगलले सिनेटको गुप्चतरसम्बन्धी समितिमा प्रदान गरेको लाखौं सामाजिक सञ्जालका पोष्टहरूको यो विश्लेषण पहिलोपटक गरिएको हो।
फेसबुक र ट्वीटरले यसअघि नै रुसी हस्तक्षेपबारे खुलासा गरे पनि अन्य सामाजिक सञ्जालसम्बन्धी साइटहरूको प्रयोगबारे भने कमैमात्रै थाहा हुन आएको थियो। विभिन्न माध्यमहरूका लक्षित प्रयोगकर्तासम्म पुग्न रुसले डिजिटल बजारमा अपनाएको प्रविधिमा यूट्यूब, टम्ब्लर, पेपाल र गुगलप्लस सबै प्रभावित भएको उक्त रिपोर्टले जनाएको छ।