मोक्षदा एकादशी

आज मोक्षदा एकादशी,आउनुहोस् जानौं महत्व एवं व्रतविधि

एकादशी व्रत भगवानको उत्सव भएकोले यसलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ

पौष ०३,२०७५

-आस्था न्यूज

३ पौष २०७५ काठमाण्डौ l 

 

हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पटक आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुबै प्रकारका एकादशीहरूको हिन्दू सनातन परंपरामा निकै महत्व रहेको पाइन्छ। मार्ग शक्ल एकादशीलाई मोक्षदा एकादशी भनिन्छl

 

मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको हो। अत: यो तिथि गीता जयंतीका नामबाट पनि विख्यात छ। यस दिनदेखि गीता-पाठको अनुष्ठान प्रारम्भ गर्नुपर्छ तथा प्रतिदिन यथासंभव गीता पढ्नुपर्छ। गीतारूपी सूर्यको प्रकाशद्वारा अज्ञानरूपी अन्धकार नष्ट हुन्छ। आज गीता उपदेशको पुस्तक श्रीमद्भगवद्गीता सहित भगवान श्रीकृष्ण र वेदव्यासको पनि भक्तिपूर्वक पूजा-आराधना गरिन्छ।

 

पौराणिक आख्यानअनुसार द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजाले राज्य गर्दथे। राजा वैखानसले एकपटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्धारका लागि आफुलाई अनुनय विनय गरेको देखे। यस्तो सपनाले वैखानस चिन्तातुर भए। उनी प्रातःकाल नै उठि राज्यसभाका गुरु-पुरोहित तथा पण्डितवर्गलाई बोलाएर सपनामा देखेको कुरा सबिस्तार सुनाए। त्यसपछि गुरु-ब्राम्हणहरुले पर्वत नाम गरेका एकजना तपश्वि ऋषिलाई भेटे नर्कबाट उद्धार हुने उपाय थाहा लाग्न सक्ने बताएl वैखानसले पनि पर्वत मुनिकहाँ पुगि सम्पूर्ण बेलिबिस्तार सुनाए। पर्वत ऋषिले ध्यानदृष्टिले अवलोकन गरी पूर्वजन्मको पापले गर्दा तपाँईका पिताले नर्क भोग्नु परेको हो भनि राजा वैखानसलाई बताएl

 

नर्कबाट मुक्तिका लागि सम्पूर्ण विधी-विधानअनुसार मंसिर शुक्ल एकादशी अर्थात् मोक्षदा एकादशीको व्रत गर्नाले तिम्रो पिताको मुक्ति अवश्य हुनेछ भनी राजा वैखानसलाई भनेl वैखानसले पनि पर्वत ऋषिले भने अनुसार मोक्षदा एकादशीको व्रत बसी नर्कमा पीड़ा पाइरहेका आफ्ना पिताको उद्धार गरे। त्यसैसमयदेखि उक्त कथाअनुसार अहिलेपनि श्रद्धालु मोक्षदा एकादशीको ब्रत बस्ने गर्दछन्l

 

पद्मपुराणको एउटा प्रसङ्गमा भगवान श्रीकृष्ण धर्मराज युधिष्ठिरसित भन्नुहुन्छ- मार्गशीर्ष शुक्ल एकादशीका दिन तुलसीको मंजरी, धूप-दीप आदिद्वारा भगवान दामोदरको पूजन गर्नुपर्छ। मोक्षदा एकादशी ठूला-ठूला पातकहरूको नाश गर्ने सामर्थ्य राख्दछ। यस दिन उपवास गरेर श्रीहरिको नाम-संकीर्तन, भक्तिगीत, नृत्य गर्दै रात्रिकालमा जागरण गर्नुपर्छ। भगवान भन्नुहुन्छ यस एकादशीको एक दिनको पुण्य प्राणीका निम्ति नर्कबाट मुक्ति प्रदान गर्ने मानिन्छ।

 

एकादशी व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ। तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्नभने खान हुँदैन। भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ।

 

एकादशी व्रत भगवानको उत्सव भएकाले यसलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता एवं शास्त्रहरूकै अवज्ञा हुने र विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेको छ। यसर्थ एकादशीमा भगवान विष्णुको विशेष पूजा-आराधना गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ। निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै एकादशीको व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन्।

 

सबै एकादशीमा भगवान् विष्णुको पूजा–आराधना गरिन्छ। तर मोक्षदा एकादशीमा भगवान विष्णुको विशेष विधिले पूजा गर्ने चलन छ। यसरी पूजा गर्दा भगवानको प्रतिमालाई पञ्चामृत तथा शंखजलले स्नान गराएर विशेष आसनमा आसीन गराइन्छ। त्यसपछि चन्दनादिको लेप लगाई षोडशोपचारले पूजा गरेर हातमा शंख, चक्र, गदा, पद्म एवं शरीरमा पीताम्बर तथा आभूषणले सुशोभित गरिन्छ। दिनमा भगवानको विशेष पूजा गरी रात्रिमा भजन–कीर्तन एवं कथा श्रवण गर्दै जाग्राम बस्नुपर्दछ। बिहानीपख पारण तथा ब्राह्मणलाई दान–दक्षिणा र भोजन गराई आफूले पनि भोजन गर्नुपर्दछ। यसो गर्नाले मनुष्यको सम्पूर्ण पाप नष्ट भई वैकुण्ठवास हुने शास्त्रवचन रहेको छl भगवानका यी क्षणहरु परम कल्याणदायी मानिन्छन्l यसैले प्रत्येक एकादशी तिथिको व्रत सम्पूर्ण मानव जातिले गर्नुपर्दछl