पोर्चुगलमा जनवरी ६ मा तमू फो-ल्होसार पर्व मनाईंदैै
-
४ पौष २०७५ काठमाण्डौ l
लिस्वोन। पोर्चुगलमा बसोवास गर्ने तमू जातिहरुको राष्ट्रिय चाड ल्होसार पर्व आगामी ६ जनवरी २०१९ का दिन राजधानी लिस्वोनमा भब्य साँस्कृतिक कार्यक्रम सहित मनाईदै छ।
तमू समाज, पोर्चुगलको मुख्य आयोजनामा हुन लागेको “तमू फो—ल्होसार पर्व २०१९”कार्यक्रमलाई सम्वोधन गर्नका लागि गायक तथा नेपाली एवंम गुरुङ्ग चलचित्रका नायक नरजङ्ग गुरुङ्ग लगायत अन्य कलाकारहरुले उक्त ल्होसार कार्यक्रमलाई प्रमुख रुपमा सम्वोधन गर्ने कार्यक्रम रहेको कुरा तमू समाज पोर्चुगलका अध्यक्ष प्रितम गुरुङ्गले जानकारी दिए।
नेपालका आदिवासी तमूहरुले आज भन्दा करिव २६०० वर्ष पहिले देखि परम्परागत रुपमा मनाउदै आएको ल्होसार अर्थात नयाँ वर्ष विक्रम सम्वत अनुसार हरेक वर्षको पौष १५ गते तथा अङग्रेजी वर्ष अनुसार डिसेम्वर ३० तारिक मनाईने गरिन्छ भने तमू लगायत तामाङ्ग,शेर्पा,ह्योल्मु आदि जातिहरुले पनि ल्होसार मनाउने गर्दछन।
ल्हो को अर्थ वर्ष वा वर्ग हो। हरेक वर्षमा एउटा ल्होकर सर्ने गर्दछ जस्लाई “ल्होकर” भनिन्छ यसरी बाह्र वर्षमा पुनः ल्हो वा वर्ग दोहोरिने गर्दछ यसरी वर्ग दोहोरिदा शुभ अशुभ हुन्छ भन्ने परम्परागत मान्यत रहदै आएको छ यसर्थ कुनै रोग ब्याधि नलागोस, मनोकांक्षा पुराहोस भन्दै आफू भन्दा ठूलाको हातबाट खतक र रुप ९ धागोको माला जस्लाई नौ वटा गाँठो पारि पुरुषलाई स्याई गरिन्छ भने सातवटा गाँठो पारि महिालाई स्याई गरिन्छl साथमा अन्य उपहार लगायत मिठा मिठा खानेकुराहरु पनि दिईन्छ।
तत्कालीन नेपाल सरकारद्धारा २०५४ साल देखी राष्ट्रिय चाडका रुपमा मान्यता दिदै हरेक वर्षको ल्होसारमा दिदै आएको सरकारी विदा हालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले उक्त विदा कटौति गरेको छ।
यस विषयलाई लिएर ल्होसार कुनै एक जातीको मात्र चाड पर्व नभै नेपालको राष्ट्रिय चाड भएकोले राज्यले यस विषयमा गम्भिर भएर विगतमा दिईदै आएको विदा कायम राख्नु पर्ने माग गर्दै गुरुङ्गहरुको छाता संगठन तमू ह्युला छोँज धिँ गुरुङ्ग राष्ट्रिय परिषद लगायत आदिवासी जनजाति महासंघले समोत विरोध गरिरहेका छन।
विश्वभरि छरिएर रहेका गुरुङ्ग लगायत तामाङ्ग,शेर्पा र अन्य नेपालीहरुले समेत ल्होसार पर्व हर्षोल्लासमय भै मनाउने प्रचलन बढेको छ।
यसरी पोर्चुगलमा बसोवास गर्ने तमू लगायत अन्य नेपाली समुदायहरुले एकै ठाउँमा जम्मा भै ल्होसार मनाउने गर्दछन।
आगामी ६ जनवरी २०१९ का दिन राजधानी स्थित रहेको भ।एभिनिदा मेट्रो स्टेशन नजिक दिनको ठिक २ बजे देखि राति ११ बजे सम्म चल्ने उक्त ल्होसार कार्यक्रममा उपस्ति भै राष्ट्रिय तमू फो—ल्होसार पर्व २०१९ लाई भब्य रुपमा सम्पन्न गर्नका लागि पोर्चुगलको नेपाली डायस्पोराका सम्पूर्ण संघ संस्थाका अध्यक्ष,प्रतिनिधि,ब्यावसायि,पत्रकार,लगायत सम्पूर्ण नेपाली समुदायहरुलाई तमू समाज पोर्चुगलले सार्वजनिक अनुरोध गरेको छ। डिसी नेपाल