प्रेरक प्रसंग

क्षमा नै सबैभन्दा ठुलो आभूषण हो:तथागत गौतम बुद्ध

वर्तमानमा प्रवेश गर,नराम्रा कुरा नराम्रा घटना सम्झिँदा वर्तमान र भविष्य दुबै बिग्रिन जान्छ

पौष ०५,२०७५

-आस्था न्यूज

५ पौष २०७५ काठमाण्डौ l 

 

तथागत भगवान बुद्ध एउटा गाउँमा उपदेश दिँदै हुनुहुन्थ्यो। उहाँले भन्दै हुनुहुन्थ्यो कि प्रत्येक मनुष्य धर्ती जस्तै सहनशील र क्षमतावान हुनुपर्छ। क्रोध यस्तो आगो हो जसले अरुलाई त जलाउँछ- जलाउँछ स्वयंलाई पनि जलाएर नष्ट पार्छl

 

सभामा उपस्थित सबैजना शान्तिसँग तथागत बुद्धको वाणी श्रवण गरिरहेका थिए। तर त्यस सभामा स्वभावैले निकै क्रोधी व्यक्ति पनि बसिरहेका थिए। जसलाई बुद्धका यी वाणी तर्कहीन लागिरहेको थियो। केही समयसम्म त उनले बुद्धका यी वाणी सुनिरहे। तर अति भएपछि एकजना मानिसले आफूमाथि नियन्त्रण गुमाउँदै बुद्धलाई गाली गर्न थाल्यो।

 

उसले तथागत बुद्धलाई गाली गर्दै भन्यो- “तिमी पाखण्डी हौ, ठूला-ठूला कुरा गर्ने तिम्रो काम नै हो। तिमीले मानिसलाई भ्रमित गरिरहेका छौ। तिम्रा यस्ता उपदेशले आजको समाजमा केही अर्थ राख्दैन।“

 

यस्ता कटुबचन सुनेर पनि बुद्ध शान्त हुनुहुन्थ्यो। आफूलाई गरेको गाली सुनेर बुद्ध न दुखी हुनुभयो न कुनै प्रतिक्रिया नै दिनुभयो। तथागत बुद्धको यस्तो निश्चल छवि देखेर त्यो व्यक्ति झन् क्रोधित भयो र उसले बुद्धको मुखमा थुकिदिएर त्यहाँबाट गयोl भोलिपल्ट जब उसको क्रोध शान्त भयो तब अघिल्लो दिन आफूले गरेको व्यवहारप्रति पश्चाताप भयो। त्यो व्यक्तिले भोलिपल्ट तथागत बुद्धलाई खोज्दै फेरि त्यही स्थानमा पुग्यो। उसले तथागत बुद्धलाई देख्ने बित्तिकै बुद्धको चरणमा पर्दे क्षमा माग्न थाल्यो।

 

तथागत बुद्धले त्यो व्यक्तिलाई सोध्नुभयो- “तिमी को हौ?  तिमीलाई के भएको छ? अनि किन क्षमा मागिरहेका छौ?  त्यो व्यक्तिले बुद्धलाई भन्यो– “हजुरले बिर्सिनुभयो?  म त्यही व्यक्ति हो जसले हिजो हजुरलाई निकै नराम्रो व्यवहार गरेको थिएँ। म लज्जित छु र मेरो नराम्रो व्यवहारप्रति क्षमा याचना गर्न आएको छु। कृपया मलाई क्षमा गरीदिनुहोस्l

 

भगवान बुद्धले प्रेमपूर्वक उसलाई सम्झाउँदै भन्नुभयो– “अतीतलाई मैले त्यँही छोडेर आइसकेको छु। तिमी अझैपनि त्यही कुरामा अल्झेका छौ? तिमीलाई आफ्नो गल्तीको आभास भएको छ। तिमीले पश्चात्ताप पनि गरिसकेका छौ। अब तिमी निर्मल भइसकेका छौ। अब तिमी वर्तमानमा प्रवेश गर। नराम्रा कुरा नराम्रा घटना सम्झिँदा वर्तमान र भविष्य दुबै बिग्रिन जान्छ। अतीतलाई लिएर वर्तमानपनि बिगार्नु बुद्धिमत्ता होइनl” यसर्थ शान्तचित्त भएर आफ्नो वर्तमान सुधारl

 

तथागत बुद्धको यस्तो अमृतमयी सहानुभूतिपूर्ण वचनले त्यो व्यक्तिको सबै बोझ हल्का भयो। उसले भगवान बुद्धको चरणमा परेर क्रोध त्याग र क्षमाशीलताको संकल्प गर्यो। तथागत बुद्धले उसलाई आशीर्वाद दिँदै उसको शीरमा हात राख्नुभयो। त्यस दिनदेखि त्यो क्रोधी व्यक्तिमा परिवर्तन आयो र उसको जीवनमा सत्य, प्रेम र करुणाको धारा बग्न थाल्यो।