लघुकथा

जीवन ईश्वर प्राप्तिको अवसर हो,यसलाई व्यर्थै नगुमाऊँ!

दुबैतर्फ मन रह्यो भने यता न उताको भइन्छ,त्यसैले समयमै विचार गर्नु आवश्यक छ

पौष ११,२०७५

-माधव प्रसाद गर्तौला

११ पौष २०७५ काठमाण्डौ l

 

गुरुकुलको प्रवेशोत्सव समाप्त भैसकेको थियोl कक्षा नियमितरूपले चल्न थालिसकेका थिए र कुलपति मान्यवर आनन्दको प्रवचन सुनेर सम्पूर्ण विद्यार्थी धेरै संतोष र उल्लास अनुभव गर्ने गर्दथेl

 

एकदिन प्रश्नोत्तर कालमा शिष्य कौस्तुभले प्रश्न गर्यो- “गुरुदेव! के ईश्वरलाई यसै जीवनमा प्राप्त गर्न सकिन्छ?”

 

कुलपति आनन्द एकछिन मौन रहेl केही क्षण विचार गरेपछि उनले भने- “यस प्रश्नको उत्तर तिमीलाई भोली मिल्नेछ र आज सायंकाल तिमीहरु सबैले सुत्नुभन्दापूर्व १०८ पटक वासुदेव मंत्रको जप गर्नु र भोली प्रातःकाल यसको सूचना मलाई दिन नबिर्सिनुl”

 

प्रातःकालको प्रवचनको समय आयोl सबै विद्यार्थी अनुशासनबद्ध भई आएर बसेl कुलपतिले प्रवचन प्रारंभ गर्नुभन्दा पहिले सोधे- “तिमीहरु सबैमा क-कसले राती सुत्नुभन्दापूर्व वासुदेव मंत्रको जप गर्यौ?” सबै विद्यार्थीले आ-आफ्नो हात माथि उठाएl कसैलेपनि भूल गरेका थिएनन्l सबैले १०८ पटक वासुदेव मंत्रको जप अनी भगवानको ध्यान गरेर सुतेका थिएl

 

तर यस्तो लाग्यो कि कुलपति आनन्द क्षुब्ध छन्, उनी संतुष्ट भएनन्l उनले चारैतर्फ आफ्नो दृष्टि दौडाएl कौस्तुभ थिएन, उसलाई बोलाउन पठाइयोl आनन्दले अस्त-व्यस्त कौस्तुभ आउने बित्तिकै प्रश्न गरे- “कौसुभ! के तिमीले पनि १०८ पटक मंत्र जप गर्यौ त?”

 

कौस्तुभले आफ्नो नेत्र झुकाउँदै विनीत र नम्र वाणीमा उत्तर दियो- “गुरुदेव! अपराध क्षमा गर्नुहोस्- मैले धेरै प्रयत्न गरें तर जब जपको संख्या गन्नमा मन जान्थ्यो तब भगवानको ध्यानमा रहँदैनथ्यो र जब भगवानको ध्यान गर्थ्यो तब मंत्रको संख्या गन्न बिर्सिन्थ्योl पूरा रात यस्तैमा बित्यो, मैले व्रत पूरा गर्न सकिन गुरुदेवl”

 

कुलपति आनन्दले मुस्कुराउँदै भने- “हिजोको प्रश्नको यही उत्तर होl जब संसारको सुख-संपत्ति भोग्नमा मन तल्लीन हुन्छ तब भगवानको स्मरण हुन सक्दैनl भगवानलाई त यसै जीवनमा प्राप्त गर्न सकिन्छ तर मन दुईतर्फ हुन हुँदैन, या त पूर्णरूपले संसारको भोग गर्ने या फेरी पूर्णरूपले नै भगवानको स्मरण गर्नेl दुबैतर्फ मन रह्यो भने यता न उताको भइन्छ, त्यसैले समयमै विचार गर्नु आवश्यक छl