Trending :
 

ऐतिहासिक प्रसंग

सौन्दर्यकी प्रतिमूर्ति नगरवधू आम्रपाली एवं तथागत बुद्ध

आफुतर्फ आकर्षित गर्न हर-संभव प्रयास गरें तर मेरो सबै प्रयास निरर्थक भयो

पौष १२,२०७५

-माधव प्रसाद गर्तौला

१२ पौष २०७५ काठमाण्डौ l 

 

यो कहानी हो भारतीय इतिहासकै सबैभन्दा सुन्दर महिलाको नामले विख्यात ‘आम्रपाली’ को, जसलाई आफ्नो सुन्दरताको मूल्य वेश्या बनेर चुकाउन पर्योl ऊ कसैको पत्नी त बन्न सकिन तर सम्पूर्ण नगरको ‘नगरवधू’ अवश्य नै बनीl आम्रपालीले आफ्नो लागी यो जीवन स्वयं चुनेकी थिइन, बरु वैशालीमा शान्ति कायम गर्नको लागी, गणराज्यको अखंडता बरकरार राख्नको लागी उसलाई कुनै एकको पत्नी नबनाई सम्पूर्ण नगरलाई नै सौम्पिइएको थियोl उसले वर्षौंसम्म वैशाली नगरका धनवान व्यक्तिहरुको मनोरंजन गरी तर जब ऊ गौतम बुद्धको संपर्कमा आई तब सबैकुरा छाडेर बौद्ध भिक्षुणी बनीl

 

आम्रपालीको जैविक माता-पिताको ज्ञान त कसैलाई छैन तर जसले उसको पालन-पोषण गर्यो उसलाई आम्रपाली एउटा आँपको रुखमुनि भेटिएकी थीl जसको कारण उसको नाम ‘आम्रपाली नै रहन गयोl ऊ अति नै सुन्दर थी, उसका आँखा ठुला-ठुला र शरीर एकदमै आकर्षक थियोl जसले पनि उसलाई देख्दथ्यो, आफ्नो नज़र उसबाट हटाउन सक्दैनथ्योl तर उसको यही सौन्दर्य, उसको यही आकर्षण उसको लागी श्राप सिद्ध भयोl एक आम युवतीसरह ऊ पनि ख़ुशी-ख़ुशी आफ्नो जीवन जिउन चाहन्थी तर यस्तो हुन सकेनl उसले आफ्नो अंतर्वेदनालाई कहिलेपनि प्रगट गर्न सकिनl

आम्रपाली जसरी-जसरी ठुली भई उसको सौन्दर्यले चरम शिखर छुँदै गयो, जसको कारणले वैशालीका हरेक पुरुष उसलाई आफ्नो बेहुली बनाउन आतुर हुन थालेl पुरुषहरुमा आम्रपालीको चाहत यति धेरै थियो कि उसलाई पाउनको लागी उनिहरु जुनसुकै हदपनि पार गर्न हिचकिचाउँदैनथेl यही सबैभन्दा ठुलो समस्या थियोl आम्रपालीका माता-पिता जान्दथे कि आम्रपालीको विवाह जस-कसैसंग गरेपनि बाँकीका पुरुषहरु उसको शत्रु नबनी रहनेछैनन्, र वैशाली नगरमा भयंकर उत्पात हुनेछl यसैले उनिहरु कुनैपनि नतीजासम्म पुग्न सकिरहेका थिएनन्l

 

यसै समस्याको समाधान खोज्नका लागी एकदिन वैशालीमा सभाको आयोजन भयोl यस सभामा उपस्थित सबै पुरुष आम्रपालीसंग विवाह गर्न चाहन्थे, जसको कारण कुनै निर्णय लिन मुश्किल भैरहेको थियोl यस समस्याको समाधानहेतु अलग-अलग विचार प्रस्तुत गरिए तर कसैले यस समस्यालाई हल गर्न सकेनन्l

 

आखिर अंतमा जुन निर्णय लिइयो त्यसले आम्रपालीको भाग्यलाई अँध्यारो गर्तमा धकेल दियोl सर्वसम्मतिका साथ आम्रपालीलाई नगरवधू अर्थात् ‘वेश्या’ घोषित गरियोl यस्तो यसैले गरियो कि सबैजना वैशालीको गणतंत्रलाई बचाएर राख्न चाहन्थेl तर यदि आम्रपालीलाई कुनै एकजना व्यक्तिलाई दिइन्थ्यो भने यसले धेरै ठुलो विद्रोह हुने सम्भावना थियो र वैशालीको एकता खण्डित हुनसक्थ्योl नगरवधू बनाइसकेपछि हरकसैले उसलाई पाउन सक्थ्योl यसप्रकार गणतंत्रको एक निर्णयले एक निरीह मनुष्यलाई आजीवन सबैको भोग्या अर्थात् साझा संपत्ति बनाएर छोड्योl

 

आम्रपालीको कथा यहीं समाप्त हुँदैनl आम्रपालीले वर्षौंसम्म वैशाली नगरवासी पुरुषहरुको मनोरंजन गरिरही तर जब एकदिन ऊ भगवान बुद्धको संपर्कमा आई तब सबैथोक छाडेर एक बौद्ध भिक्षुणी बनी आउनुहोस् आम्रपाली भिक्षुणी बनेको कथापनि पढौंl

 

तथागत बुद्ध एवं आम्रपाली

तथागत बुद्ध आफ्नो एक प्रवासमा वैशाली आउनुभयोl उहाँको साथ हजारौं अन्य भिक्षुहरुपनि साथै थिएl तथागत बुद्धका सबै भिक्षुहरु प्रतिदिन वैशाली नगरमा भिक्षाटन गर्नका लागी जान्थेl

 

वैशाली नगरमै आम्रपालीको भव्य महल थियोl ऊ वैशालीको सबैभन्दा सुन्दर स्त्री र नगरवधू थीl ऊ वैशालीको राजा, राजकुमारहरु र सबैभन्दा धनाढ्य व्यक्ति तथा शक्तिशालीहरुको मनोरंजन गर्ने गर्थीl एकदिन उसको द्वारमा एकजान भिक्षु भिक्षा माग्न भनी आयोl त्यस भिक्षुकलाई हेर्ने बित्तिकै आम्रपाली उसको प्रेममा परीl ऊ प्रतिदिन नै राजा-राजकुमारहरुलाई हेर्ने गर्थी तर मात्र एउटा भिक्षापात्र लिएको त्यस भिक्षुकमा उसलाई अनुपम गरिमा र सौन्दर्य देखियोl

ऊ माथिबाट दौडिँदै आई र भिक्षुकलाई भनी- “आउनुहोस्, कृपया मेरो दान ग्रहण गर्नुहोस्l” त्यस भिक्षुकको पछाड़ी अरुपनि धेरै भिक्षुक खड़ा थिएl ती सबैलाई आफ्नो आँखामाथि विश्वास भएनl जब युवक भिक्षु आम्रपालीको भवनमा भिक्षा लिनको लागी गयो तब ती सबै ईर्ष्या र क्रोधले जल्न थालेl

 

भिक्षा दिसकेपछि आम्रपालीले युवक भिक्षुसंग भनी- “तीन दिनपछि वर्षाकाल प्रारम्भ हुनेवाला छ, म चाहन्छु कि हजुर त्यस अवधिमा मेरै महलमा निवास गर्नुहोस्l”

 

युवक भिक्षुले भन्यो- “मलाई यसको लागी आफ्नो गुरु तथागत बुद्धसंग अनुमति लिनुपर्ने हुन्छl यदि उहाँले अनुमति प्रदान गर्नुभयो भने म यहाँ अवश्य नै निवास गर्नेछुl”

 

ऊ बाहिर आएपछि अन्य भिक्षुहरुले ऊसंग कुरा गरेl उसले आम्रपालीको निवेदनको बारेमा बतायोl यस्तो सुनेर सबै भिक्षु धेरै क्रोधित भएl तिनिहरु त मात्र एकदिनको भिक्षा ग्रहण गर्दा यति धेरै क्रोधित भएका थिए यहाँ त चार-चार महिनाको योजना सुन्दा उनिहरु अतिनै क्षुब्ध भएl युवक भिक्षु तथागत बुद्धकहाँ पुग्नुभन्दापूर्व नै ती भिक्षुहरु बुद्धकहाँ पुगेर त्यस घटनालाई बढाई-चढ़ाई बुद्धलाई सुनाए- “त्यो स्त्री वेश्या हो र एक भिक्षु त्यहाँ पूरा चार महिना कसरी बस्न सक्छ?”

तथागत बुद्धले भन्नुभयो- “सबैजना शान्त भएर बस, उसलाई आउन त देऊl उसले आम्रपालीकहाँ निवास गर्ने निश्चय गरिसकेको छैन, ऊ त्यहाँ तब बस्नेछ जब मैले उसलाई अनुमति दिनेछुl”

 

युवक भिक्षु आयो र उसले तथागत बुद्धको चरणस्पर्श गरी सबै वृत्तांत भन्यो- “आम्रपाली यहाँकी नगरवधू होl उसले मलाई चतुर्मास भरी आफ्नो महलमा निवास गर्नको लागी आग्रह गरेकी छे, र भनेकी छे कि सबै भिक्षु कसै न कसैको घरमा बस्ने नै छन्, त्यसैले हजुर मेरै महलमा निवास गर्नुहोलाl मैले उसलाई भने कि तथागत बुद्धको अनुमति भयो भने मात्रै म यहाँ निवास गर्न सक्छुl”

 

तथागत बुद्धले उसको आँखामा हेर्नुभयो र भन्नुभयो- “तिमी त्यहाँ निवास गर्न सक्छौl”

 

तथागत बुद्धको यस्तो वचन सुनेर भिक्षुहरुलाई ठुलो आघात पर्योl ती सबैले यस कुरामा विश्वास गर्न सकिरहेका थिएनन् कि बुद्धले एकजना युवक शिष्यलाई एउटा वेश्याको घरमा चार महिना सम्म बस्ने अनुमति कसरी दिनुभयोl तीन दिनपछि युवक भिक्षु आम्रपालीको महलमा चतुर्मास भरी निवास गर्नको लागी गयोl अन्य भिक्षुले नगरमा चलिरहेका कुरा बुद्धलाई सुनाए- “सम्पूर्ण नगरमा एउटै चर्चा चलिरहेको छ कि एक युवक भिक्षु आम्रपालीको महलमा चार महिनासम्म निवास गर्दैछ!”

 

तथागत बुद्धले भन्नुभयो- “तिमीहरु सबै आ-आफ्नो चर्याको पालन गरl मलाई आफ्नो शिष्यमाथि पूरा विश्वास छl मैले उसको आँखामा हेरेको छु, अब उसको मनमा कुनैपनि इच्छा बाँकी छैनl यदि मैले उसलाई अनुमति नदिएको भएपनि उसलाई नराम्रो लाग्दैनथ्योl मैले उसलाई अनुमति दिएँ र ऊ गयोl मलाई उसको ध्यान र संयममा भरोसा छl तिमीहरु सबै यति धेरै व्यग्र र चिन्तित किन छौ? यदि उसको धर्म अटल छ भने आम्रपाली पनि त्यसबाट प्रभावित नभई रहन सक्दिनl र यदि उसको धर्म निर्बल भयो भने उसले आम्रपाली अगाडी समर्पण गर्छl यो त भिक्षुको लागी परीक्षणको समय होl बस केवल चार महिनासम्म प्रतीक्षा गर, मलाई उसमाथि पूर्ण विश्वास छl

 

ती भिक्षुहरुमा धेरैलाई बुद्धको कुरामाथि विश्वास भएनl उनिहरुले सोचे- “बुद्ध व्यर्थै ऊमाथि यति धेरै भरोसा गर्नुहुन्छl भिक्षु अहिले युवा नै छ र आम्रपाली अतिनै सुन्दरl बुद्धले भिक्षु संघको प्रतिष्ठालाई खतरामा हाल्दै हुनुहुन्छl” तर तिनिहरु केहीपनि गर्न सक्दैनथेl

चार महिनापछि युवक भिक्षु बिहार फर्कियो र उसको पछाड़ी-पछाड़ी आम्रपाली पनि तथागत बुद्धको समीप आईl आम्रपालीले बुद्धसंग भिक्षुणी संघमा प्रवेश दिनको लागी आज्ञा मागीl “मैले हजुरको भिक्षुलाई आफुतर्फ आकर्षित गर्न हर-संभव प्रयास गरें तर मेरा सबै प्रयास निरर्थक सिद्ध भए र अंतिममा म पराजित भएँl उसको आचरणले मलाई यो मान्न विवश गर्यो कि हजुरको चरणमा नै सत्य र मुक्तिको मार्ग छl म आफ्नो समस्त सम्पदा भिक्षु संघलाई दानमा दिन्छुl”

 

आम्रपालीको महल र उपवनहरु चतुर्मासमा सबै भिक्षुहरुलाई निवास गर्ने अति उपयोगी स्थान सिद्ध भयोl अगाडी गएर ऊ बुद्ध संघमा सबैभन्दा प्रतिष्ठित भिक्षुणीहरुमा एक बनीl