जेठ ०५,२०७४
-
जेठ ५ –
फिल्म ‘फाटेको जुत्ता’को बिहीवार ललितपूरको कार्यविनायक मन्दिरमा शुभसाइत गरिएको छ । मधेशको परिवेशमा निर्माण हुने फिल्ममा सौगात र प्रियंका कार्कीको मुख्य भुमिका रहेको छ ।
बेरोजगार युवालाई फाटेको जुत्तासँग तुलना गर्दै तयार भएको फिल्मको समारोहमा सौगात र प्रियंकाले मुहुर्त सट दिएका थिए ।
फिल्मको मुहूर्त कार्यक्रममा बोल्दै नायक सौगात मल्लले आफूलाई मनपर्ने कलाकारहरुसँग 'फाटेको जुत्ता' मा काम गर्न पाउँदा निकै उत्साहित भएको बताए । त्यस्तै, नायिका प्रियंका कार्कीले पहिलो पटक विल्कुलै नयाँ कथामा काम गर्न लागेका कारण खुशी महशुस गरिरहेको बताइन् । पहिलो पल्ट तराईको परिवेशमा काम गर्न लागेकी प्रियंकाले आफू फिल्मका लागि उत्साहित रहेको बताइन् ।
फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । ‘जुत्तालाई हामीले प्रतीकको रुपमा प्रयोग गरेका छौं । कतिपय मानिस फाटेको जुत्ताजस्तै अनुपयोगी र प्रतिष्ठाविहीन ठानिन्छन् तर मौकामा त्यही कुराले पनि ठाउँमा ठूलो काम गर्छ । फिल्मको मुख्य पात्र कथाको पनि यस्तै यस्तै नै छ ,’ खड्काले भने ।
फिल्मलाई अर्जुन कुमारले निर्माण गर्न लागेका हुन् । तीन वर्षअघि घोषणा भएको फिल्म बल्ल सुटिङमा जान लागेको हो । अर्जुन कुमारले फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताए ।
निरज महर्जनले लेखेको फिल्ममा कामेश्वर चौरसिया र रवीन्द्र झा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । शंकर थापाको संगीत रहेको फिल्मलाई निरज कँडेलले छायांकन गर्नेछन् ।
कात्तिक १७ गतेलाई सम्भावित रिलिज मिति समेत तय गरिएको यो फिल्मको एक महिनासम्म छायांकन चल्नेछ ।
प्रमुख समाचार