पौष १७,२०७५
-आस्था न्युज
१७ पौष २०७५ काठमाण्डौ l
हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पटक आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुबै प्रकारका एकादशीहरूको हिन्दू सनातन परंपरामा निकै महत्व रहेको पाइन्छ। पौष कृष्ण एकादशीलाई ‘सफला’ एकादशी भनिन्छl
पौष महिनाको कृष्णपक्षको एकादशी तिथिलाई सफला एकादशी भनिन्छ। महाभारतकालमा धर्मराज युधिष्ठिरको जिज्ञासा शान्त गर्ने क्रममा भगवान् श्रीकृष्णले सफला एकादशीको महिमा बताउनुभएको पौराणिक ग्रंथहरुमा उल्लेख रहेको पाइन्छ। प्राचीन पद्मपुराणमा उल्लिखत कथाप्रसंगमा भगवान श्रीकृष्णले ठूला–ठूला यज्ञभन्दा पनि विधिपूर्वक गरिएको एकादशी व्रतबाट भगवान् विष्णुको सान्निध्य प्राप्त हुने रहस्य बताउनुभएको छ।
पौष महिनाको कृष्णपक्षमा अत्यन्त शुभफलदायक 'सफला' नामक एकादशी पर्दछ। जुनसुकै एकादशी भएपनि समस्त व्रत-उपासनाहरु मध्ये एकादशीलाई नै सर्वश्रेष्ठ उपासना मानिन्छ। एकादशी व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ। तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्नभने खान हुँदैन। भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ।
एकादशी व्रत भगवानको उत्सव भएकाले यसलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता एवं शास्त्रहरूकै अवज्ञा हुने र विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेको छ। यसर्थ एकादशीमा भगवान विष्णुको विशेष पूजा-आराधना गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ। निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै एकादशीको व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन्।
द्वादशीका दिन भगवान विष्णुको विशेष पूजा–आराधना गरी सात्विक ब्राह्मणलाई भोजन प्रदान गरी यज्ञोपवितका साथमा दक्षिणा सहित पूर्णपात्र दान गरी बिदा गरिन्छl यसरी विधिपूर्वक सफला एकादशीको अनुष्ठान गरी रात्रिमा जागरण तथा भजन–कीर्तन गर्ने व्रतीलाई श्रेष्ठ यज्ञ सम्पादन गर्दा जे–जति पुण्यफल प्राप्त हुन्छ त्यसभन्दा पनि अझ विशेष र बढी फल व्रतीलाई प्राप्त हुन्छ भनी शास्त्रवचन रहेको छ।
यसरी भगवान श्रीकृष्णको मुखारविन्दबाट सफला एकादशीको व्रत-विधि सुनीसकेपछि धर्मराज युधिष्ठिरले यस एकादशीको महिमा पनि श्रवण गर्ने इच्छा जाहेर गरेl धर्मराज युधिष्ठिरको भक्तिभाव बाट प्रसन्न हुँदै भगवान श्रीकृष्णले भन्नुभयो- हे धर्मराज युधिष्ठिर! म तपाईंलाई अत्यन्त प्रेमपूर्वक एउटा गोपनीय रहस्य भन्दछु ध्यानपूर्वक श्रवण गर्नुहोस्l यस एकादशीको नाम सफला एकादशी हो। यस एकादशीका देवता साक्षात् भगवान श्रीहरी हुनुहुन्छ। त्यसैले यस व्रतमा विधिको विशेष पालना गर्नुपर्छ। जसरी नागहरूमा शेषनाग, पक्षीहरूमा गरुड, ग्रहहरूमा चन्द्रमा, यज्ञहरूमा अश्वमेध र देवताहरूमा भगवान् विष्णु श्रेष्ठ छन्, त्यसरी नै सबै व्रतहरूमध्ये एकादशीको व्रत श्रेष्ठ छ।
हे राजन्! अब यस व्रतको महात्म्य सुन्नुहोस्। चम्पावती नगरीमा महिष्मान नामका राजा राज्य गर्दथे। उनका चारजना पुत्र थिए। ज्येष्ठ पुत्रको नाम लुम्पक थियो। त्यो अत्यंत पापी थियो र सदैव परस्त्रीहरुसंग रमण गर्ने गर्थ्योl यसका साथै अन्य पापकर्महरुमा पिताको धन खर्च गर्ने गर्थ्यो। देवता, ब्राह्मण र भगवानका प्रिय भक्तहरूको सदैव निन्दा गर्थ्यो। जब राजाले आफ्नो ज्येष्ठ पुत्रको व्यवहार थाहा पाए, उनलाई असाध्यै दुःख लाग्यो। र उनले लुम्पकलाई आफ्नो राज्यबाट निकालिदिए।
देशनिकालामा परेपछि उसले अनेक उपाय विचार गर्यो र अन्त्यमा चोरी गरी जीविका चलाउने निर्णय गर्यो। दिनभरि ऊ वनमा लुकेर बस्थ्यो भने रात्रिकालमा आफ्नै पिताको नगरीमा गई चोरी गर्थ्यो र प्रतिकार गरेमा प्रजालाई मारीदिन्थ्योl यसरी उसको प्रतिदिनको आतंकले समस्त नगरवासी नै भयभीत भए। वनमा समेत उसले पशुहरूलाई मारेर खान थाल्यो।
लुम्पक बस्ने वनमा मानिसहरूले साक्षात् भगवान विष्णुको स्वरूप मानी प्राचीनकालदेखि पूजा गरी आएको एउटा विशाल पीपलको वृक्ष थियो। उक्त स्थानमा देवताहरू समेत समय-समयमा विचरण गर्न आइरहन्थे। त्यही पवित्र वृक्षको फेदमा त्यो महापापी लुम्पक बसोवास गर्न थाल्यो। एक रातको कुरा हो, ऊ जाडो मौसममा पनि वस्त्रहीन भएकाले कक्रिएर पीपलको फेदमा सुतेको थियो, रातभरि निदाउन सकेन। जाडाले यति कक्रियो कि, सूर्योदय हुने बेलासम्मै ऊ मूर्च्छित भइरह्यो। त्यो दिन पौष कृष्णपक्षको एकादशी थियो। उक्त एकादशीको मध्याह्न समयमा सूर्यको तापले ऊ मूर्च्छाबाट ब्युँझियो।
भोकले शरीर अत्यन्त कमजोर भएकाले लर्खराउँदै ऊ भोजनको खोजीमा निस्कियो। पशु वध गर्न ऊ अशक्त थियो। त्यसैले वरिपरि रुखका फेदमा झरेका फल बटुलेर त्यही पीपलको छहारीमा आयो। त्यति बेलासम्म सूर्यास्त भएर साँझ परिसकेको थियो। उसले पीपलको फेदमा फल राखेपछि अचानक भगवानको नाम स्मरण गरेर भन्न थाल्यो, हे भगवन्! अब हजुरलाई नै अर्पण गर्दछु यी फलl उसलाई रातभरि जाडो र कष्ट भएकाले सुत्न सकेन। यसरी अन्जानमै उसले एकादशीको उपवास र रातभर जागरण पूरा गरेपछि भगवान् अत्यन्त प्रसन्न हुनुभयो। एकादशीको व्रतका प्रभावले उसका सम्पूर्ण पाप नष्ट भए।
भोलिपल्ट त बिहानै उसको सामु अति सुन्दर घोडा विभिन्न वस्तुहरूले सजिएर उसका सामुन्ने आएर उभियो। त्यसपछि आकाशवाणी भयो– हे राजपुत्र! भगवान् श्रीनारायणको कृपाले तिम्रा सम्पूर्ण पाप नष्ट भए। अब आफ्ना पितासमक्ष जाऊ र पहिले गरेका कुकर्मप्रति क्षमा माग, पश्चाताप गर र राज्य प्राप्त गर। यस्ता वाणी सुनेर ऊ अत्यन्त प्रसन्न भयो र सुन्दर वस्त्र धारण गरी ‘हे भगवन्! हजुरको जय होस्’ भनी भगवानलाई प्रणाम गरेर आफ्ना पिताको दरबारमा गयो।
उसको आगमनले वृद्धावस्थामा पुगेका पिता अत्यन्त प्रसन्न भए र उसलाई समस्त राज्यको भार सुम्पिदिएर वानप्रस्थी भए। लुम्पकले शास्त्रनीतिअनुसार राज्य गर्न थाल्यो। उसका स्त्री, पुत्र, सारा कुटुम्ब र प्रजाजन भगवान श्रीहरीका परम भक्त भए। धेरै वर्षसम्म राज्यभोग गरेपछि आफ्नो छोरालाई राज्यको भार सुम्पिदिएर ऊ पनि वनमा तपस्या गर्न गयो र अन्त्यकालमा वैकुण्ठलोक प्राप्त गर्यो। अतः हे युधिष्ठिर जो मनुष्यले यस परम पवित्र सफला एकादशीको व्रत गर्दछ उसलाई अन्त्यमा मुक्ति प्राप्त हुन्छ। यस सफला एकादशीको माहात्म्यलाई पढ्ने अथवा श्रवण गर्ने मनुष्यले पनि अश्वमेध यज्ञको फल प्राप्त गर्दछन्।
प्रमुख समाचार
सम्वन्धित समाचार