Trending :
 

सबरीमला मन्दिरमा बुधबार बिहान पशे दुईजना महिला

पौष १८,२०७५

-

१८ पौष २०७५ एजेंसी l
 
 
५० वर्ष भन्दा कम उमेरका दुई महिला भारत केरलाको सबरीमला मन्दिरमा बुधबार बिहान प्रवेश गर्न सफल भएका छन् । यी महिलाले यसअघि पनि मन्दिर प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरु बुधबार बिहान सफल भएका हुन् ।
 
 
सादा कपडामा रहेका दुई महिला प्रहरी तथा अरु सहयोगीको सुरक्षामा स्वामी अयप्पाको मन्दिरमा प्रवेश गर्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केरलाका मुख्यमन्त्री पी, विजयनले दुई महिला मन्दिर भित्र प्रवेश गर्न सफल भएको पुष्टि गरेका छन् ।
 
 
सरकारले नै उनीहरुलाई सुरक्षा दिएको मुख्यमन्त्री विजयनले बताएका छन् । पेरिनथलमन्नाकी विन्दु र कन्नुरकी कनकदुर्गा गएको महिना पनि मन्दिरमा प्रवेश गर्ने प्रयास गरेका थिए । त्यो बेला सफल नभएका उनीहरु बुधबार बिहान सफल भएका हुन् । उनीहरुलाई गएको महिनाको प्रयासमा दक्षिणपन्थी संगठनका कार्यकर्ताले रोकेका थिए ।
 
 
स्वामी अयप्पाको मन्दिर सबरीमलामा १० देखि ५० वर्ष उमेरका किशोरी तथा महिलामाथि प्रवेशमा प्रतिबन्ध रहँदै आएको थियो । तर गएको सेप्टेम्बर २८ मा भारतको सर्वोच्च अदालले यो व्यवस्था खारेज गर्दै सबै उमेर समूहका महिलालाई मन्दिर प्रवेश गर्न दिन आदेश दिएको थियो ।
 
 
स्वामी अयप्पा ब्रह्मचारी रहेकाले महिनावारीको उमेर पुगेका वा महिनावारी हुने उमेरका महिलामाथि प्रवेशमा रोक लाग्दै आएको थियो । बुधबार मन्दिर प्रवेश गरेका दुई महिलाहरु त्यो समूहका महिला हुन्, जसले मन्दिर प्रवेशका लागि १० महिलाको समूह बनाएका थिए ।
 
 
भारतीय जनता पार्टी (भाजपा) र उसका सहयोगी संगठनहरुले महिलालाई मन्दिर प्रवेशमा रोक लगाउँदै परम्परा कायम राख्नु पर्ने पक्षमा अभियान चलाएका छन् । यसले गर्दा राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।