Trending :
 

एउटै माछाको ३५ करोड

पौष २२,२०७५

-

जापानका एक जना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (३४ करोड ७२ लाख)मा खरिद गरेका छन् । जापानमा एउटै माछाको अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो । यो माछा प्रतिकेजी करिब साढे १२ लाख पर्नेछ । 

अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमा लोपोन्मुख प्रजातिको मानिने यो माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । “टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए । यसअघि सन् २०१३ मा पनि उनले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । 

“यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,” जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदातालाई बताए । “पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,” उनले भने । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ ।

रासस