फिलिपिन्समा आँधी र पहिरोबाट एक सय २६ को मृत्यु
-
२२ पौष २०७५ एजेंसी l
क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ। आँधीपछि आएको वर्षा र वर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरूको संख्या १ सय २६ पुगेको अधिकारीहरूले जनाएका छन्।
फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो। आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। आँधी र पहिरोले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ। राजधानी मनिलादेखि दक्षिण पूर्वमा पर्ने बिकोलमा मात्रै झन्डै सयजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
क्रिसमसको बिदामै रहेका बेला प्रभावित भएका धेरैलाई अन्यत्र स्थानान्तरण गरिएको छ। स्थानीयवासीको शब्दमा ‘उस्मान’ भनिने यस आँधी निकै खराब खालको भएको बताइएको छ। घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरूको खोजी कार्य अझै पनि जारी रहेको छ। उद्धार तथा खोजीका लागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रूपमा रहेको छ।
यस आँधी र पहिरोका कारण झन्डै एक लाख ५२ हजारलाई अन्यत्र सारिएको हो। घटनामा परी अहिलेसम्म ७५ जना घाइते भएका विवरण प्राप्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ।
राष्ट्रपति रोड्रिगो डुटेर्टेले शुक्रबार घटनास्थलको निरीक्षण गरे। उनले प्रभावितहरूलाई तत्काल उपयुक्त ठाउँमा बसोवासको व्यवस्थापन गर्दै आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्। प्रभावितहरूलाई विभिन्न विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ।
आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक, पुललगायतका भौतिक संरचनाहरू पनि भत्किएका छन्। फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन्। यी आँधीका कारण हरेक वर्ष सयौँ व्यक्तिको मृत्यु हुनुका साथै लाखौँ मानिसलाई घरवारविहीन हुने गरेका छन्।
सन् २०१३ मा आएको शक्तिशाली ‘हाइयान’ आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ। यो आँधीबाट सात हजार तीन सय ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।