सिरियाबाट अमेरिकी सेनाको फिर्ती तत्काल नहुने संकेत
-
२३ पौष २०७५ काठमाण्डौ l
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रहेका अमेरिकी सैनिक स्वदेश फिर्ता गर्ने बताएपछि अमेरिकी राजनीतिमा तरंग पैदा भएको छ। राष्ट्रपति ट्रम्पको घोषणापछि जेम्स म्याटिसले रक्षा मन्त्रीबाट राजीनामा दिए।
अहिलेसम्म पेन्टागनका तीन उच्च अधिकारीले राजीनामा दिइसकेका छन्। यहिबिचमा अमेरिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने प्रक्रिया केही आधार वा शर्तहरुमा निर्भर रहने बताएका छन्।
यसको अर्थ उनले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने प्रक्रियामा ढिलाइ हुने संकेत गरेका छन्। इजरायल तथा टर्कीको भ्रमणमा रहेका सुरक्षा सल्लाहकार बोल्टनले उत्तरी सिरियाको सुरक्षाको सम्बन्धमा टर्कीको तर्फबाट सुनिश्चितता लिइने बताएका छन्।
यस्तै सिरियामा बाँकी रहेका इस्लामिक स्टेट (आइएस) पूर्ण रुपमा पराजित भएको पुष्टि पनि पुनः गर्नेछ। सिरियाबाट सेना फिर्ता बोलाउने घोषणापछि राष्ट्रपति ट्रम्पको तीव्र आलोचना भइरहेका बेला सुरक्षा सल्लाहकार बोल्टनको यस्तो भनाई आएको हो।
राष्ट्रपति ट्रम्पले सिरियामा आइएस पराजित भएको भन्दै गएको डिसेम्बरको मध्यमा अमेरिकी सेना फिर्ता हुने बताएका थिए। सिरियामा अहिले २००० को हाराहारीमा अमेरिकी सेना छन्।