जेठ ०७,२०७४
-
जेठ ७ -
इन्डियन प्रिमियर लिग (आईपीएल)को १०औं संस्करणको उपाधिका लागि राइजिङ पुने सुपर जाइन्ट र मुम्बई इन्डियन्सबीच आज उपाधिका लागि भिडन्त हुनेछ । प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा पुनेबाट पराजित मुम्बई इन्डियन्सले नै फाइनलमा स्थान बनाउन सफल भएको हो । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पुनेसँगको उपाधि भिडन्त पक्का गरेको छ ।
बैंग्लोरस्थित मोहमद चिन्नास्वामी स्टेडियममा कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दसौं संस्करणको उपाधि नजिक पुगेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरको खेलमा १८.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय सात रनको सामान्य स्कोर बनाएको थियो । कोलकाताका लागि सूर्यकुमार यादवले सर्वाधिक ३१ रन बनाए । २५ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै इसाङ्क जागीले २८ रन बनाए भने कप्तान गौतम गम्भीर १२ रनमा पेभेलियन फर्किए । प्रारम्भिक ब्याट्सम्यान सुनिल नारिनले १० रन बनाए । कोलकाताका अन्य ब्याट्सम्यानले क्रिजमा जमेर खेल्न नसक्दा कम योगफलमै समेटिन पुगे ।
कोलकातालाई सस्तैमा समेट्न मुम्बईका करण शर्माले सर्वाधिक चार विकेट लिए । यस्तै जसप्रीत बुमराहले तीन तथा मिचेल जोहन्सनले दुई विकेट लिए । शर्मा र बुमराहले सुरुदेखि नै धारिलो बलिङ गर्दा कोलकाताका खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् ।
एक सय आठ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले १४.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ११ रन बनाउँदै विजयी भयो । लेन्डन सिमोन्स, पार्थिव पटेल र अम्बाती रायडु पेभेलियन फर्किएपछि मैदानमा आएका कुनाल पाण्डेयले अविजित ४५ रनको महत्वपूर्ण योगदान दिए । यस्तै कप्तान रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए । कोलकाताका लागि पियुस चावलाले दुई विकेट लिए । यस्तै उमेश यादव र नाथन कल्टर नाइलले एक एक विकेट हात पारे ।
मुम्बई इन्डियन्सले अब उपाधिका लागि आज राइजिङ पुने सुपर जायन्टसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणका दुई खेलका साथै प्लेअफको पहिलो खेलमा पनि पुनेले मुम्बईलाई स्तब्ध पारेको थियो । त्यही कारण पुने उच्च मनोबलका साथ आइतबार हैदराबादस्थित राजीव गान्धी स्टेडियममा उत्रँदा दुईपटकको उपाधि विजेता मुम्बई इन्डियन्स पनि उपाधिमा ह्याट्रिक गर्ने अभियानमा हुनेछ ।
प्रमुख समाचार
सम्वन्धित समाचार