Trending :
 

१०० किलो सुनको सिक्का चोरी,चार जनाविरुद्ध मुद्दा दायर

पौष २९,२०७५

-

 
२९ पौष २०७५ एजेंसी l 
 
 
बीबीसी । जर्मनीको राजधानी बर्लिनस्थित एउटा सङ्ग्रहालयबाट सन् २०१७ मा शुद्ध सुनको एउटा ठूलो सिक्का चोरी भएको घटनाका सम्बन्धमा चार व्यक्तिविरुद्ध मुद्दाको सुनुवाइ आरम्भ भएको छ।
 
 
एक सय किलो तौल भएको र २४ क्यारेट शुद्धताको उक्त क्यानेडेली सिक्काको तत्कालीन मूल्य ४३ लाख डलर रहेको थियो। अपराध अनुसन्धानकर्ताहरूले अझैसम्म पनि उक्त सुनको सिक्का फेला पार्न सकेका छैनन्।
 
 
त्यसलाई कि त काटेर टुक्रा पारेर कि त पगालेर बेचिएको हुनसक्ने अनुमान गरिएको छ। उक्त सिक्का क्यानडाको सरकारी टक्सारले टकमरी गरेको पाँचवटा सिक्कामध्ये एक थियो।
 
 
त्यो सिक्का एकजना अज्ञात दाताले बर्लिनस्थित उक्त सङ्ग्रहालयलाई दान दिएका थिए। सरकारी अभियोजनकर्ताहरूका अनुसार चार अभियुक्तमध्ये तीन जना एकअर्काका नातेदार भएका र सङ्गठित अपराधसँग सम्बन्ध भएको भनिएको लेबननी बर्लिन परिवारका सदस्य छन्।
 
 
तिनीहरूले गोली नछिर्ने सिसा फुटाएर त्यसको पछाडि राखिएको उक्त सिक्का चोरी गरी एकपाङ्ग्रे ठेला र स्केट बोर्डको मद्दतले त्यसलाई गुडाएर बाहिर निकालेका हुनुपर्ने अनुमान गरिएको छ।
 
 
चौथो अभियुक्त उक्त सङ्ग्रहालयमा सुरक्षाकर्मीका रूपमा कार्यरत थिए। उनले उक्त सिक्का राखिएको ठाउँ र त्यससँग सम्बन्धित सुरक्षा व्यवस्थाबारे चोरहरूलाई जानकारी उपलब्ध गराएका हुनसक्ने ठानिएको छ।
 
 
तिनीहरूलाई युवाहरूको अपराध हेर्ने अदालतसमक्ष प्रस्तुत गरिएको छ र थुनामा राखिएको छैन। दोषी ठहरिएमा उनीहरूलाई १० वर्षसम्म जेल सजाय हुनसक्छ। आगामी मार्च महिनाको २८ तारिखमा मुद्दाको फैसला हुने अनुमान गरिएको छ।
 
 
अदालतमा प्रतिवादी वकिलले ती अभियुक्तहरूले उक्त विशाल सुनको सिक्का चोरेका भन्ने देखाउने कुनै पनि प्रमाण प्रहरीले प्रस्तुत गर्न नसकेको बताएका छन्।अभियुक्तहरू भने मौन बसेका थिए।
 
 
सिक्का चोरी भएको रात सुरक्षा क्यामराहरूले उक्त सङ्ग्रहालयनजिकै अनुहारमा मुकुन्डो लगाएका र टोपी भएको लुगा लगाएका तीन पुरुषहरूको दृश्य कैद गरेका छन्।