मकर संक्रान्ति विशेष

मकर संक्रान्तिको धार्मिक,सांस्कृतिक एवं वैज्ञानिक महत्व

निर्मल आनंदको पर्याय यी पर्वले लोक-जीवनलाई देव-जीवनतर्फ उन्मुख गराउँँदछन्

पौष ३०,२०७५

-माधव प्रसाद गर्तौला

३० पौष २०७५ काठमाण्डौ l

 

‘रसो वै स:’ पूर्वीय मनीषाले जीवनलाई यसै रूपमा परिभाषित गरेका छन्l रस अर्थात् आनन्द-उल्लास-उमंगl यी अवसर जीवनमा बार-बार आऊन्,अनवरतरूपले आऊन् र सदा-सदाका लागी बनी रहून्,यसैलाई ध्यानमा राखी देवसंस्कृतिमा पर्वहरुको सृजन गरियोl निर्मल आनंदको पर्याय यी सबै पर्वले लोक-जीवनलाई देव-जीवनतर्फ उन्मुख गराउंदछन्l तर यसमा पनि माघे-संक्रान्ति अर्थात् मकर-संक्रान्तिको साथ यी अनुभूतिहरु विशेष गहिराईका साथ जोडिएको छl

 

यो जन-आस्था तथा लोकरुचिको पर्व होl यसलाई सम्पूर्ण सृष्टिमा जीवन अनुप्राणित गर्नेवाला भगवान सूर्यको उपासनाको पर्व पनि भनिन्छl यस अवसरमा उत्पन्न हुनेवाला सात्विक भावले देशको सांस्कृतिक चेतनालाई पुष्ट गर्दछl

 

मकर-संक्रान्ति प्रतिवर्ष माघ एक गतेका दिन पर्दछl सूर्यको उत्तरदेखि दक्षिणतर्फ बढ्दै जाने अवधिलाई ‘दक्षिणायन’ तथा दक्षिणदेखि उत्तरतर्फको यात्राकाललाई ‘उत्तरायण’ भनिन्छl वृत्तको ३६० अंशको समान नै पृथ्वीको परिक्रमापथ ३६० अंशमा नै विभाजित छl यसको अण्डाकार परिक्रमापथलाई ३०-३० अंशको समूहमा १२ राशिहरुलाई विभक्त गरिएको छl प्राचीन ज्यौतिष गणनाअनुसार पृथ्वीको परिक्रमा गरिरहेको समय सूर्य जुन राशिमा देखा पर्दछ, त्यही सूर्यको राशि मानिन्छl संक्रान्ति १२ राशिहरुमा सूर्यको संक्रमण हो- “रवे: संक्रमणं राषौ संक्रान्तिरिति कथ्यतेl” मकर-संक्रान्ति भगवान सूर्यको नवम धनु राशिदेखि दशम मकर राशिमा संक्रमण होl

 

चन्द्रमास साढ़े उन्तीस दिनको एवं चन्द्रवर्ष ३५४ दिनको हुन्छ, तर सौर-दिन ३० दिनको एवं वर्ष ३६५ दिन ६ घंटाको हुन्छ,चन्द्रवर्ष निश्चित हुँदैन,त्यसमा परिवर्तन आइरहन्छ भने सूर्यको संक्रमण एउटा निश्चित अवधि एवं समयमा सम्पन्न हुन्छl

 

संक्रमण पर्व मकर-संक्रान्तिको ‘मकर’ शब्दको पनि विशेष महत्व रहेको छl यस महत्वलाई अलग-अलग भाषीहरुले आ-आफ्नै ढंगले प्रतिपादित गरेका छन्l हरीति ऋषिको अनुसार, मकर मत्स्य वर्गका जल-जन्तुहरुमा सर्वश्रेष्ठ छ- मत्स्यानां मकर: श्रेष्ठोl यसैले भगवती गंगाको वाहन पनि मकर नै रहेको छl प्राय: सबै शास्त्रकारहरुले गंगालाई मकरवाहिनी मानेका छन्l कामदेवको पताकाको प्रतीक पनि मकर नै छl अतएव कामदेवलाई ‘मकरध्वज’ पनि भनिन्छl  

 

ज्योतिष गणनाका १२ राशिहरुमा दशौं राशिको नाम मकर होl पृथ्वीको एउटा अक्षांश रेखालाई पनि मकर रेखा भनिन्छl श्रीमद्भागवतमहापुराणअनुसार, सुमेरु पर्वतमा उत्तरतर्फ रहेका दुई पर्वतहरुमध्ये एउटा पर्वतको नाम पनि मकर नै रहेको छl

 

पुराणहरुमा मकर-संक्रान्तिको धेरै विस्तारसंग चर्चा गरिएको छl पुराणकारहरुले सूर्यको दक्षिणदेखि उर्ध्वमुखी भएर उत्तरस्थ हुने समयलाई संक्रान्ति पर्व एवं संस्कृति पर्वको रूपमा स्वीकार गरेका छनl पौराणिक विवरणअनुसार, उत्तरायण देवताहरुको एक दिन एवं दक्षिणायन एक रात्रि मानिएको छl

 

यो वैज्ञानिक सत्य हो कि उत्तरायणमा सूर्यको तापले शीत-प्रकोपलाई कम गर्छl शास्त्रकारहरुले पनि मकर-संक्रान्तिलाई सूर्य-उपासनाको विशिष्ट पर्व मानेका छन्l यस अवसरमा भगवान सूर्यको गायत्री महामन्त्रको साथ पूजा-उपासना, यज्ञ-हवनको अलौकिक महत्व छl मकर-संक्रान्ति पर्वको अधिष्ठातृ देवता भगवान सूर्यलाई विश्वको आत्मा भनेर अलंकृत गरिएको छl

 

आयुर्वेदका मर्मज्ञहरुको मान्यता छ कि शीतकालीन चिसो हावाले शरीरमा अनेक व्याधिहरुलाई उत्पन्न गर्दछl यसर्थ तिल-शखर आदि वस्तुहरुलाई यस अवसरमा प्रयोग गर्ने विशेष प्रावधान रहेको छl चरक संहिताले स्पष्ट गर्दछ कि-

 

शीते शीतानिलस्पर्षसंरुद्धो बलिनां बलीl

रसं हिन्स्त्यतो वायु: शीत: शीते प्रकुप्यतिl l

 

यस्ता विभिन्न प्रकारका प्रकोपहरुका निवारणका लागी आयुर्विज्ञानले विशेष घ्यू-तेल, तिल-शखर, उखु, सूर्यको ताप, तातो पानी आदिको सेवन गर्ने सल्लाह दिन्छl मकर-संक्रान्तिका दिन स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपुराणमा उल्लेख गरिएको छ।

 

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम्।

स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दतिl l

 

महाभारत का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने राजा भगीरथले यही दिन भगवती गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिएl त्यसैले मकर-संक्रान्ति का दिन प्रयागराज र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छl

 

यसै दिन विशेष गरी नेपालमा विभिन्न नदिहरु एवं पवित्र तीर्थस्थलमा स्नान गर्ने तिर्थालुहरुको घुइँँचो रहन्छ। तनहूँको देवघाट,सुनसरिको चतरा,कालीगण्डकी किनार,पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाउँहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुईंचो रहन्छ। यसरी माघी स्नान गरिसकेपछी तिलको सुकेको वुट्यानलाई बालेर आगो ताप्ने चलन पनि रहेको छ। यसरी माघी स्नान गरेमा पापमोचन हुने जनविश्वास समेत रहेको पाइन्छ।

 

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकैदिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न-भिन्न भेग र समुदायमा भिन्न-भिन्न ढंगले मनाउने प्रचलन छ। यसको उदाहरण मकर-संक्रान्ति पर्व हो। मकर संक्रान्तिको अपर नाम माघे सङ्क्रान्ति पनि हो। यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ। यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्। नेपालको समस्त भू-भाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने ब्राह्मण, क्षत्रीय, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ-आफ्ना परम्परा, भिन्न-भिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ।