Trending :
 

माघे संक्रान्तिलाई तरुल किन्नेहरुको भिड, गत वर्षको भन्दा सस्तो

पौष ३०,२०७५

-

पुस ३०,२०७५ काठमाडौं ।
यस वर्षको माघे संक्रान्तिमा काठमाडौंमा तरुलको मूल्य सस्तिएको छ । 
 
मागभन्दा बढी तरुल बजारमा भित्रिएपछि यस वर्ष गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । 
 
माघ संक्रान्तिकालाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ । 
 
यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए । 
 
गत वर्ष विकास समितिले ६ सय टन तरुल माघे संक्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साँढे ९ सय टन भित्रयाएको छ ।
 
स्टक रहने डरले पनि धेरै भित्रिएकाले यस वर्ष तरुल सस्तोमा बिक्री गर्नु परेको पनि उपनिर्देशक श्रेष्ठले बताए । 
 
व्यापारीहरुले फेरी स्टक रहने डरले पनि तरुलको मूल्य बढाउन नचाहेको पनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
 
बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढी प्रतिकेजी मूल्य ३०० सयमा बिक्री भएको छ । 
 
त्यसैगरी तरुल प्रतिकेजी ५० रुपैयाँ, हात्तीपाईले तरुल बढीमा १ सय २० रुपैयाँमा बिक्री भइरहेको छ । गत वर्ष यो तरुल प्रतिकेजी ३ सय ५० रुपैयाँभन्दा बढिमा बिक्री भएको पनि विकास समितिका उपनिर्देशक श्रेष्ठले बताए । 
 
बजारमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल पनि भित्रिएको छ ।
 
यो वर्ष सबैभन्दा बढी तरुल सर्लाही जिल्लाबाट काठमाडौँ भित्रिएको छ । 
 
कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार यस वर्ष माघे संक्रान्तिलाई लक्षित गरेर पिडाँलू १ सय ३० टन, सक्करखण्ड १ सय ५० टन भित्रिएको छ । सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट यस वर्ष तरुल काठमाडौँ भित्र्याइएको हो ।
 
हरेक वर्ष पुस महिनामा सबैभन्दा बढी तरुल बिक्री हुने गर्दछ । 
 
माघे संक्रान्तिलाई तरुलको संक्रान्तिको रुपमा लिने भएकाले यस समयमा तरुलको विक्री अत्याधिक हुने गरेको हो । 
 
माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यवसायिक खेती पनि सुरु गरिएको छ । 
 
माघ संक्रान्तिमा तरुल खाएपछि चिसो आफै हटेर जाने जनविश्वास पनि रहिआएको छ ।