पुत्रदा-एकादशी-महात्म्य

पुत्रदा एकादशी,यसको व्रतविधि एवं महिमा

जसका संतान छैनन् उनीहरूले आजको एकादशीमा व्रत गर्नाले अवश्य पुत्रप्राप्ति हुन्छ!

माघ ०३,२०७५

-आस्था न्युज

३ माघ २०७५ काठमाण्डौ l 

 

हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पटक आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुबै प्रकारका एकादशीहरूको हिन्दू सनातन परंपरामा निकै महत्व रहेको पाइन्छ। पौष शुक्ल एकादशीलाई ‘पुत्रदा’ एकादशी भनिन्छl

 

पौष महिनाको शुक्लपक्षको एकादशी तिथिलाई पुत्रदा एकादशी भनिन्छ। महाभारतकालमा धर्मराज युधिष्ठिरको जिज्ञासा शान्त गर्ने क्रममा भगवान् श्रीकृष्णले पुत्रदा एकादशीको महिमा बताउनुभएको पौराणिक ग्रंथहरुमा उल्लेख रहेको पाइन्छ। प्राचीन पद्मपुराणमा उल्लिखत कथाप्रसंगमा भगवान श्रीकृष्णले ठूला–ठूला यज्ञभन्दा पनि विधिपूर्वक गरिएको एकादशी व्रतबाट भगवान् विष्णुको सान्निध्य प्राप्त हुने रहस्य बताउनुभएको छ।

 

पौष महिनाको शुक्लपक्षमा अत्यन्त शुभफलदायक पुत्रदा नामक एकादशी पर्दछ। जुनसुकै एकादशी भएपनि समस्त व्रत-उपासनाहरु मध्ये एकादशीलाई नै सर्वश्रेष्ठ उपासना मानिन्छ। एकादशी व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ। तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्नभने खान हुँदैन। भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ।

 

एकादशी व्रत भगवानको उत्सव भएकाले यसलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता एवं शास्त्रहरूकै अवज्ञा हुने र विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेको छ। यसर्थ एकादशीमा भगवान विष्णुको विशेष पूजा-आराधना गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ। निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै एकादशीको व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन्।

 

यस पुत्रदा एकादशीका आराध्य भगवान् विष्णु हुनुहुन्छ। यो व्रत सर्वप्रथम भद्रावती नगरका राजा सुकेतुमानले गरेका थिए। उनकी पत्नीको नाम शैव्या थियो। लामो समयसम्म सन्तान नभएकाले उनीहरू दुःखी र चिन्तित थिए। सन्तान र त्यसमा पनि पुत्रको चाहनाले उनीहरूको मन निकै व्यथित थियो।

 

अपुत्रस्य गृहं शून्यं हृदयं दुःखितं सदा।

पितृदेव मनुष्याणां नानृणित्वं सुतं विना।।

 

सन्तानहीनताले व्याकुल राजदम्पत्तिलाई कुनै खुसीको कुरा देख्दा वा सुन्दा पनि सुखको अनुभव हुँदैनथ्यो। बिहान उठ्दादेखि नसुतेसम्म सन्तानकै चिन्ताले सताइरहन्थ्यो। यस्तैमा राजाको मनमा आत्महत्या गर्ने विचार समेत आउँथ्यो। तर शास्त्रमा आत्महत्या गर्नेको दुर्गति बताइएको सुन्दा राजाले त्यसो गर्न सकेका थिएनन्।

 

एकदिनको कुरा हो ती सुकेतुमान् राजाले राजदरवार छाडी जंगलमा गएर बस्ने विचारले कसैलाई नबताई घोर जंगलतर्फ प्रस्थान गरे। राजपुरोहित र उनका निजी सचिवहरूले समेत राजा कहाँ गए भन्ने थाहा पाउन सकेनन्। उता घोर जंगलमा एक्लो राजा भोकप्यासले यताउता भड्किरहे। अबको गन्तव्य पत्ता लगाउन नसकेका उनले मनमनै विचार गरे– मैले यस जन्ममा पनि अनेक धर्मकर्म गरेको छु, मलाई यस्तो दुःख किन भएको होला? यत्तिकैमा राजा सुकेतुमान् ले एउटा सुन्दर सरोवर देखे। सरोवरकै किनारमा ऋषिमुनिहरुको सुन्दर आश्रमहरू पनि देखे। उनले तपस्वी मुनिहरूका समीपमा गई उनीहरूलाई साष्टांग दण्डवत् प्रणाम गरे।

 

राजाले ऋषिमुनिहरूलाई आदर–सत्कारले प्रसन्न पारेपछि उनिहरुले हजुरहरू को हुनुहुन्छ? कहाँबाट यहाँसम्म पाल्नुभएको हो भनी प्रश्न गरे। विनम्र स्वभावका राजालाई ऋषिगणले भने– यस पवित्र तलाउमा स्नान गर्न आएका हामी विश्वेदेव (देवता) हौं। आजका पाँचौं दिनमा माघ महिना लाग्दै छ। माघमासमा स्नानको महत्त्व ठूलो छ र आज पुत्रदा एकादशीको पावन पर्व भएकाले आजैबाट स्नान, गायत्रीजप आदि पुण्यकर्ममा लागेका हौं। तिमीलाई केही माग्ने इच्छा भए वर माग भनेपछि राजाले हात जोडेर विनीत भावमा आफ्नो बिन्ती बिसाए– हे देवगण! म निःसन्तान छु र म पुत्रको चाहनाले भड्किरहेको छु। अतः मलाई पुत्रप्राप्तिको उपाय बताउनुहोस्। त्यसपछि राजाको वेदनाले द्रवीभूत भएका ऋषिगण पुत्रदा एकादशीको महत्त्व दर्साउँदै उनलाई विधिपूर्वक व्रत बस्ने सुझाव प्रस्तुत गर्छन्l

 

अद्य ह्येकादशी राजन् पुत्रदा नाम नामतः।

पुत्रं ददात्यसौ शुक्ला पुत्रदा पुत्रमिच्छताम्।।

 

हे राजन्! आज पुत्रदा एकादशी हो। यसर्थ जसका संतान छैनन् उनीहरूले आजको एकादशीमा व्रत गर्नाले अवश्य पुत्रप्राप्ति हुन्छ। त्यसैले तिमी पनि यो पुत्रदा एकादशीको व्रत गर भनी उपदेश दिएपछि राजाले मुनिहरूकै सान्निध्यमा पुत्रदा एकादाशीको व्रत गरी द्वादशीमा पारणा गरे। व्रतको पारणा गरेपछि मुनिहरूलाई बारम्बार परिक्रमा एवं प्रणाम गरी दरबारमा फर्किए। त्यसपछि केही दिनमा रानी गर्भवती भएको थाहा पाएर वर्षैभरिका एकादशी व्रतहरू लिन थाले। पुत्रदा एकादशी व्रतका प्रभावले उनको तेजस्वी पुत्र उत्पन्न भयो। राजाले पुत्रप्राप्ति भएको खुशियालीमा दानादि कृत्य गरे भने उनका पितृहरू पनि प्रसन्न भए। त्यसपछि सबै प्रजालाई खुशीसाथ पालनपोषण गरी राजाले समय व्यतीत गरे।

 

पितरं तोषयामास प्रजापाले बभूव सः।

एतस्मात् कारणात् राजन् कर्तव्यं पुत्रदा व्रतम्।।

 

भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुभएको प्रसंग हो यो। यही सन्दर्भमा भगवान् भन्नुहुन्छ– यो पुत्रदा एकादशी व्रत अत्यन्त गोप्य हुँदाहुँदै पनि लोककल्याणका लागि मैले बताएँ, त्यसैले जसले यो व्रत लिन्छ, उसले यो लोकमा पुत्रपौत्र प्राप्त गर्नुका साथै मरणोपरान्त समेत स्वर्गमा परम पद प्राप्त गर्दछ। पुत्रदा एकादशीको महात्म्य वा कथा मात्र पढ्नाले पनि अश्वमेध यज्ञ गरेको फल प्राप्त हुन्छ भनिएको छ। यसर्थ पुत्रदा एकादशीमा सक्नेले व्रत लिने र नसक्नेले पनि कम्तीमा कथा सुन्ने वा आफैंले पाठमात्रै भए पनि गर्नुपर्दछ भन्ने भगवान् श्रीकृष्णको सन्देश रहेको छ।

 

पुत्रं प्राप्येह लोके तु मृतास्ते स्वर्गगामिनः।

पठनात् श्रवणात् राजन् अश्वमेधफलं लभेत्।।

 

द्वादशीका दिन भगवान विष्णुको विशेष पूजा–आराधना गरी सात्विक ब्राह्मणलाई भोजन प्रदान गरी यज्ञोपवितका साथमा दक्षिणा सहित पूर्णपात्र दान गरी बिदा गरिन्छl यसरी विधिपूर्वक पुत्रदा एकादशीको अनुष्ठान गरी रात्रिमा जागरण तथा भजन–कीर्तन गर्ने व्रतीलाई श्रेष्ठ यज्ञ सम्पादन गर्दा जे–जति पुण्यफल प्राप्त हुन्छ त्यसभन्दा पनि अझ विशेष र बढी फल व्रतीलाई प्राप्त हुन्छ भनी शास्त्रवचन रहेको छ।