Trending :
 

आईपीइएल च्याम्पियन मुम्बई

१० औं संस्करणको आईपीइएल उपाधि मुम्बई इन्डियनसलाई

१ रनले पुनेले बेहोर्यो हार

जेठ ०८,२०७४

-

जेठ ८ –

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १०औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आईपीएल क्रिकेटमा हिजो भएको अन्तिम खेलमा राइजिङ पुने सुपरजाइन्टमाथि सानदार जित निकाल्दै मुम्बई यो सिजनको विजेता हुन् सफल भएको हो । एक रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितेको मुम्बईको आईपीएलमा यो तेस्रोपटकको उपाधि हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । जवाफमा पुनेले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय २८ रन मात्र बनाउन सक्यो ।

मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सनले लिएको २ विकेट महत्वपूर्ण बन्न पुग्यो । पुनेलाई जितका लागि अन्तिम ओभरमा ११ रन चाहिने थियो भने उसँग ७ विकेट बाँकी नै थियो तर मिचेलले २ विकेट लिएर कसिलो बलिङ गरेपछि खेल जित्न सकेन ।

अन्तिम बलमा पुनेलाई जितका लागि चार रन आवश्यक थियो । जोन्सनको अन्तिम बललाई पुनेका ब्याट्सम्यान ड्यानियल क्रिस्टियनले पुनेका लागि दुई रन लिए तर तेस्रो रन लिन दौडिएका क्रिस्टियन रनआउट हुन पुगेपछि नतिजा मुम्बईको पोल्टामा गएको थियो ।

पुनेका लागि कप्तान स्टिभ सम्थले दुई छक्का र दुई चौका प्रहार गरी अर्धशतक पुरा गरे भने ओपनर अजिन्का रहानेले ४४ रन बनाए ।

मुम्बईको तर्फबाट मिचेल जोनसनले सर्विधक ३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईका लागि क्रुणाल पाण्डेयले सर्वाधिक ४७ रन बनाएका थिए । सुरुमै दुबै ओपनरलाई गुमाएपछि दबावमा आएको मुम्बईका लागि क्रुणालले जिम्मेवारीपूर्ण खेल खेल्दै ३८ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । कप्तान रोहित शर्माले २२ बलको सामना गरी चार चौकाको मद्दतले २४ रन बनाएका थिए । ओपनर ब्याट्सम्यान लेन्डल सिमोन्स तीन रनमै पेभेलियन फर्किए भने पार्थिव पटेल पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।

सुरुदेखि नै मुम्बईलाई दबावमा राखेका पुनेका बलर जयदेव उनादकट, एड्म जाम्पा र ड्यानियल क्रिस्टियनले दुई÷दुई विकेट लिएका थिए ।

मुम्बईले सन् २०१३ र सन् २०१५ को उपाधि पनि हात पारेको थियो । यसपटकको लिग चरणमा पनि पहिलो भएको मुम्बई यो १०औं संस्करणमा पनि पहिलो हुँदै तेस्रो उपाधि कब्जा गर्न सफल भएको हो ।

मुम्बईले ट्रफीसहित नगद १५ करोड पुरस्कार हात पारेको छ । यस्तै, उपविजेता पुनेले १० करोड प्राप्त गर्‍यो।