माघ ०६,२०७५
-
नेपाल थाइल्यान्डमा भएको वुमन्स टीट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगितामा उपविजेता बनेको छ। शनिबार भएको खेलमा आयोजक थाइल्यान्डसँग ७० रनले पराजित भएपछि नेपाली टोली उपविजेतामै सीमित बनेको हो।
यससँगै १२ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको नेपाल उपाधिको निक्कै नजिक पुगेर पनि चुकेको छ। सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा नै फाइनल यात्रा तय गरेको नेपालले त्यसयता पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको थियो। समूहगत चरण र सेमिफाइनल गरी लगातार पाँच खेलमा जित निकालेको नेपाल फाइनलमा ठूलो अन्तरले पराजित हुन पुग्यो।
टीट्वेन्टी विश्वकपअन्तर्गत लगत्तै हुने क्षेत्रीय छनोट प्रतियोगिताको तयारीस्वरूप नेपाली टोली टीट्वेन्टी स्म्यास क्रिकेट खेल्न थाइल्यान्ड पुगेको थियो। पछिल्लो झन्डै दुईवर्ष यता पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपाल थाइल्यान्डसँगको पराजयले पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने अवसरबाट पनि चुकेको हो।
आफूभन्दा निक्कै अनुभवी टोली थाइल्यान्डविरुद्ध नेपालले फाइनल खेलमा बलिङ र ब्याटिङ दुवै विधामा कमजोर प्रदर्शन गर्यो। टस जितेपछि पहिले फिल्डिङ रोजेको नेपालले थाइल्यान्डविरुद्ध कसिलो बलिङ गर्न सकेन। त्यसैले थाइल्यान्डले निर्धारित २० ओभरमा मात्रै एक विकेट गुमाएर एक सय २१ रनको योगफल तय गर्यो।
जवाफमा नेपालले ब्याटिङमा पनि गतिलो प्रदर्शन गर्न सकेन। १७.२ ओभरमा मात्रै ५१ रन जोड्दा सबै विकेट गुमाएपछि नेपालको ठूलो अन्तरको हार निश्चित बनेको थियो। ब्याटिङतर्फ नेरी थापाले ३७ बलमा १७ तथा उपकप्तान सीता रानामगरले १७ बलमा १३ रन जोडेका थिए। त्यसबाहेक सरिता मगर र कप्तान रुविना क्षेत्री बेलबासेले पाँच÷पाँच रन जोड्दा बाँकी खेलाडीले त्योभन्दा माथिको रन जोड्न सकेनन्।
सीताले आफ्नो पालीमा दुई चौका प्रहार गरे भने सरिता र रुविना दुवैले एक÷एक चौका प्रहार गरे। बलिङतर्फ नेपालले रन आउटमा एक विकेट लिएको थियो। २७ रनमा खेलिरहेकी थाइल्यान्डकी प्रारम्भिक खेलाडी नरुइमोल चाइवाईलाई कप्तान रुविनाले रन आउट गराएकी थिइन्। यद्यपि अर्का प्रारम्भिक खेलाडी नथ्थकन चन्थनले ६७ बलमा अविजित ६९ रन प्रहार गरेपछि थाइल्यान्डले नेपाल सामु ठूलो योगफल तय गरेको थियो। बलिङतर्फ सुलिपोर्न लाओमीले तीन तथा सोर्नारिन तिप्पोचले नेपालका महŒवपूर्ण दुई विकेट लिएका थिए।
प्रमुख समाचार
सम्वन्धित समाचार