तलब नपाएपछि मलेसियामा दुई हजार नेपाली कामदार आन्दोलित
-
माघ १५, २०७५ काठमाडौं ।
तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका छन् ।
कम्पनीले एक महिनाको मात्रै तलब दिने बताएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन् ।
मंगलबार पनि बिहानदेखि नै काम रोकेर बसेको र तोडफोड नहोस् भनेर प्रहरीले आन्दोलित कामदारलाई घेरा हालेर राखेको खोटाङको ललित घलानले बताए । नियमीत तलब नपाउँदा निकै समस्या भइरहेको उनको गुनासो छ ।
डब्लूआरपी कम्पनीले हातमा लगाउने ग्लोब उत्पादन गर्छ । उत्पादिन ग्लोब अन्तर्राष्ट्रिय बजारमा जाने गरेको छ । श्रमिकले तलब नदिएर खानाको लागि टोकन कार्ड मात्रै उपलब्ध गराउदै आएको बताए ।
नेपाली जनप्रगतिशील मञ्चका पूर्व महासचिव अर्जुन सुवेदीले हड्तालमा उत्रिएका श्रमिकहरु कम्पनी परिसरमै रहेको बताए । उनले श्रमिक र दूतावासबिच समन्वय गरिरहेको बताए ।
श्रम काउन्सेलर बद्रीबहादुर कार्कीले श्रमिकको अवस्था बुझ्नका लागि श्रम सहचारीको नेतृत्वमा टोली पठाइएको बताए ।
दूतावासबाट हड्तालस्थल पुग्न झन्डै दुई घण्टा लाग्नेछ । सकभर वार्ताबाटै समस्या समाधान गर्न प्रयासरत हुनेछौँ । वार्ता नमिलेमा कानुनी प्रक्रियामा जानेछौँ’, उनले भने ।
दूतावासले आवश्यकता अनुसार श्रम विभागसँग समेत समन्वय गर्ने जनाएको छ । ती श्रमिकहरुको जनवरी अघिबाट एकहजार रिंगेट न्यूनतम् तलब पाउथे । जनवरीबाट भने ११ सय रिंगेट लागू भएको छ ।
कान्तिपुरबाट