जेठ ०९,२०७४
-विविसी
जेठ ९ –
ब्रिटेनको म्यानचेष्टर शहरमा एउटा पप साङगितिक कन्सर्ट भइरहेको स्थानमा भएको बम बिस्फोटनमा कैयौं मानिसहरु मारिएका छन् ।
म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो । म्यानचेष्टरको प्रहरीले कम्तीमा १९ जनाको मृत्यु भएको र झण्डै ५० जना घाइते भएको पुष्टी गरेको छ।
विस्फोटनका कारण भवनहरु हल्लिएका थिए र भग्नावशेषहरु हावामा उडिरहेको भन्दै एक जना प्रत्यक्षदर्शीले आफुले कैयौं मानिस भुईंमा ढलिरहेको देखेको र त्यसमध्ये केहीले ज्यान गुमाएको हुनसक्ने बताए ।
कैयौं प्रत्यक्षदर्शीहरुले विस्फोटन लगत्तै अन्योलपूर्ण परिस्थिति देखिएको जनाएका छन्।
साङ्गीतिक कार्यक्रम हेर्न आएकी आफ्नी श्रीमती र छोरीलाई लिन गएका एण्डी होलीले भने, "म उनीहरुलाई कुरिरहेको थिएं र त्यसैबेलामा विस्फोटन भयो। म हुत्तिएर करिब ३० फिट परको अर्को ढोका नजिकै पुगें।"
मध्य म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
सो क्षेत्रलाई घेराबन्दी गरिएको छ र नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध भएको छ ।
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले म्यानचेष्टर शहरमा भएको विस्फोटनबाट प्रभावितहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्दै सो घटनालाई डरलाग्दो आतंकवादी हमलाको रुपमा छानविन थालिएको जानकारी दिएकी छन् ।
म्यानचेष्टर विस्फोटलाई लिएर मंगलबार बिहान प्रधानमन्त्री मे ले ब्रिटेनको उच्चपदस्थ सुरक्षा अधिकारी सहभागी हुने कोब्रा बैठकको अध्यक्षता गर्ने जनाइएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार