जेठ ०९,२०७४
-
जेठ ९ –
सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा आर्मीले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा आज भएको उद्घाटन खेलमा पूर्वाञ्चललाई ९ विकेटले पराजित गर्दै आर्मीले विजय सुरुवात गरेको हो ।
आर्मीको जितमा सागर पुनले अलराउण्ड प्रदर्शन गर्दै ५ विकेट लिए भने नटआउट ४० रन बनाए । यस्तै अनिल मण्डलले अर्धशतकको परि खेल्दै नटआउट ५६ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पूर्वाञ्चलले ३२.२ ओभरमा १०३ रन जोडदै अलआउट भयो।
पूर्वाञ्चलका लागि मेहवुव आलमले २ चौका र ३ छक्काको साथमा सर्वाधिक ३६ रन बनाए । त्यस्तै पूर्वाञ्चलका विधान गोस्वामीले १९ तथा अंकित सुवेदीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
पूर्वाञ्चललाई सस्तैमा समेट्ने क्रममा आर्मीका सागर पुनले ५, सुसन भारीले ३ तथा सोमपाल कामीले २ विकेट लिए ।
१०४ रनको सामान्य लक्ष्य आर्मीले केवल १८ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। आर्मीले ओपनर महेश क्षेत्रीलाई पहिलो ओभरमै शुन्यमा गुमायो। मेहवुव आलमले महेशलाई आउट गरे। तर दोस्रो विकेटका लागि अनिल मण्डल र सागर पुनले नटआउट १०६ रनको साझेदारी गरेपछि आर्मीले सहज जित हात पार्यो ।
अलराउण्ड प्रदर्शन गरेका सगर पुन आजको खेलमा म्यान अफ द म्याच हुन् सफल भए ।
जितपछि समूह बी मा रहेको आर्मीले २ अंक जोडेको छ । भोलि बुधबार समूह बी कै नेपाल पुलिस र सुदूरपश्चिमाञ्चल बीच खेल हुनेछ ।
प्रमुख समाचार
सम्वन्धित समाचार