१७ औं आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई
-
फागुन १८,२०७५ काठमाडौं ।
१७ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि थ्री स्टारले जितेको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न उपाधि भिडन्तमा थ्री स्टारले त्रिभुवन आर्मी क्वबलाई सडन डेथमा ५-४ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। थ्री स्टारले पाँचौं पल्ट आहा राराको उपाधि जितेको हो।
खेलको निर्धारित समय १-१ को बराबरीमा सकिएपछि थप गरिएको समयमा समेत दुवै टोलीले एक एक गोल थपेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमासमेत दुबै टोलीका तर्फबाट ४-४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट गरिएको थियो।
सडन डेथमा थ्री स्टारले ५-४ ले नतिजा आफ्नो पक्षमा पार्यो। थ्री स्टारका रञ्जित धिमाल, रुपेश केसी, विक्रम लामा, अनन्त तामाङ र मिक्छेन तामाङले गोल गरे। यस्तै आर्मीका भरत खवास, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे।
त्यसअघि खेलमा अग्रता आर्मीले बनाएको थियो। खेल सुरु भएको ५ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गरेका थिए। थ्री स्टारका रञ्जित धिमालले ४५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
त्यसपछि दुबै टोलीका तर्फबाट निर्धारित समयभित्र गोल हुन नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। अतिरिक्त समयमासमेत आर्मीले नै खेलमा अग्रता बनाएको थियो।
आर्मीका बिमल पाण्डेले अतिरिक्त समयको १५ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई उपाधि नजिक पुर्याएका थिए। तर, अतिरिक्त समयको अन्त्य तिर थ्री स्टारका पिटरले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए।
उपाधि विजेता थ्री स्टारले ८ लाख प्राप्त गरेको छ भने आर्मीले ४ लाख प्राप्त गरेको छ।