जेठ ११,२०७४
-एजेन्सी
जेठ ११ -
युरोपा लिगको फाइनल खेल अन्तर्गत गय राती भएको खेलमा आयाक्स एम्सटरड्यामलाई २-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले पहिलोपटक युरोपा लिगको उपाधि हात पारेको छ ।
खेलको १८औं मिनेटमा पल पोग्बाको गोलले म्यानचेस्टर खेलमा अगाडी बढेको थियो। मराउन फेलाइनिको पासमा पोग्बाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको म्यानचेस्टरले दोश्रो हाफको सुरुवातमै अग्रता दोब्बर पार्यो। क्रिस स्मलिङको पासमा हेनरिक मिखीतार्यानले गोल गर्दै युनाइटेडलाई २ गोलले अगाडी बढाएका थिए ।
यस जितसँगै युनाइटेडले आफ्नो इतिहासमा जित्न बाँकी रहेको एकमात्र उपाधि पनि हात पारेको छ। यस उपाधिसँगै घरेलु लिगमा छैटौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको लागि पनि छनोट भएको छ। आफुले खेलेका १४ मध्य १२ फाइनल खेल जितेका प्रशिक्षक जोसे मोउरिन्होले युनाइटेड उपाधिको हकदार रहेको अभिव्यक्ति दिए। उनले आफुले खेलेका चारैओटा युरोपियन फाइनलमा उपाधि जितेका छन्। मोउरिन्होले आयाक्सविरुद्ध खेलेका ७ खेलमध्य सबैमा जित हात पारेका छन् ।
फाइनल खेलमा पल पोग्बाको प्रदर्शन उत्कृष्ट रहेको थियो। उनले म्यानचेस्टर युनाइटेडका लागि १९ खेलको गोल खंडेरी पछि लगातर २ खेलमा गोल गरे। यसैगरी युनाइटेडले यस सिजन आफुले पहिलो गोल गरेको खेलमा अपराजित रहेको रेकर्डलाई पनि कायमै राख्यो ।
यस नतिजासँगै म्यानचेस्टर युनाइटेडको सिजन सफलतापुर्वक अन्त्य भएको छ। लिगमा खराब प्रदर्शन गर्दै छैटौं स्थानमा चित्त बुझाउन बाध्य युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गर्यो। यससँगै युनाइटेडले अब खेलाडी किनबेचमा ठुलो रकम खर्चिन पाउने भएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार