Trending :
 

चिकित्सक आन्दोलनः निजिलाई काईदा,बिरामी दोहोरो पीडामा!

चैत्र २७,२०७५

-

चैत २७,२०७५ काठमाडौं ।
 
नेपालको संविधानले मौलिक हक अन्तर्गत राखेको अत्यावश्यक स्वास्थ्य सेवालाई नै असर पर्ने गरी सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् ।
 
रोगको पीडामा पिल्सिनु परिरहेका बेला बिरामीले भगवान् मान्ने चिकित्सक आफैँ आन्दोलनमा उत्रिएर दोहोरो पीडा दिएको भन्दै उनीहरुले चिन्ता प्रकट गरेका छन् ।
 
बिरामीले उपचार नपाएर रोगले च्याप्दै गएको बताएका छन् भने कतिपयले आफूहरु उपचार नपाएर नै मर्ने हो त? भनेर चिकित्सकसँग प्रश्नसमेत गरेका छन् । थाइराइडको उपचारका लागि आउनुभएका गोरखाको पालुङटार नगरपालिका–३ डुम्रेडाँडाका जीवरायल मियाँलाई पनि चिकित्सकको आन्दोलनले पीडा थपेको छ । 
 
उहाँलाई केही दिनदेखि थाइराइड बढेर स्वास्थ्यमा असहज भयो । शरीर केही मोटाएजस्तो र सुन्निए जस्तो भयो । त्यसपछि उहाँले नियमित उपचार गराउँदै आएका वीर अस्पतालका चिकित्सक दीपक मल्लसँग यसपाली भेट्न सक्नुभएन । 
 
सङ्घअन्तर्गत आफूहरुलाई राख्नुपर्ने माग राखेर सरकारी चिकित्सक विगत चार दिनदेखि आन्दोलनमा उत्रिएपछि उपचार सेवा नपाउनुभएका मियाँ जस्ता धेरै बिरामी मंगलबार दिउँसो वीर अस्पतालमा सुस्ताउँदै गर्दा भेटिएका थिए ।
 
उपचार गर्न नपाएपछि सिधै प्रयोगशालामा गएर सम्बन्धका आधारमा रगत परीक्षण गराउनुभएका मियाँले निजी असपतालमा गएर रिपोर्ट देखाउने योजना बनाउनुभएको छ । 
 
मियाँले भन्नुभयो, “रगत परीक्षणमा त दिएँ अब रिपोर्ट देखाउन अर्को चिकित्सककोमा जानुपर्ने छ, एक त बिरामी भएको पीडा, अर्को उपचार नपाउने, दोहोरो पीडामा त पार्नु भएन नी ।”
 
नजिकै रहेका अन्य बिरामी र तिनका आफन्तहरु सरकारी चिकित्सकलाई गाली पनि गर्दै थिए । उनीहरु आपसमा कुराकानी गर्दै सरकारी तलब खाएर बिरामीको स्वास्थ्यमा खेलबाड गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने बताउँदै थिए ।
 
केही पहुँच हुनेहरुले त भनसुनका आधारमा र चिकित्सक भेटेर उपचार लिएका दृष्य वीर अस्पतालमा देखिन्थ्यो । तर पहुँच नहुने गरीब, पिछडिएका समुदायल भने अस्पतालको गेट कुरेर बस्न बाध्य थिए ।
 
अस्पतालको टिकट काउन्टरको विश्राम कक्षमा असरल्ल अवस्थामा देखिन्थे बिरामीहरु । टिकट नै काट्न नपाएका कतिपय बिरामी मलिन अनुहार लिएर फर्किएका थिए भने कतिपय उपचार पाइहालिन्छ कि भनेर अस्पतालको गेट कुरेर बसेका थिए ।
 
खुट्टा सुन्निएर उपचारका लागि मकवानपुर फाखेलबाट आउनुभएका जीतबहादुर बलको पीडा पनि उस्तै थियो । उहाँले आजको दिन वीर अस्पतालको टिकट काउन्टरको विश्राम कक्षमा बसेर बिताउनुभयो । दुखेसो पोख्दै उहाँले भन्नुभयो, “जाँच्न आएको डाक्टरै फेला परेन, बन्द छ भन्यो, फेरि भोलि आउने ।” 
 
काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पनि मंगलबार अवस्था उही थियो । अस्पतालमा आएका बिरामीमध्ये आकस्मिक र कुकुरले टोकेकाकोबाहेक अरु बिरामीले टिकट काट्न पाएनन् । उनीहरु त्यसै फर्किन बाध्य भए । 
 
पुनःपरीक्षणका लागि आएका बिरामी भने अस्पतालको आकस्मिक कक्षमा टोलाइरहेका थिए । केहीले अस्पताल परिसरमा भेटिएका चिकित्सकलाई रिपोर्ट देखाउँदै थिए भने अधिकांश बिरामी उपचार नै नपाइ फर्किएका थिए । आकस्मिक कक्षमा भने उपचार हुँदै गरेको देखिन्थ्यो ।
 
कुलेश्वरबाट उपचारका लागि आउनुभएकी रेशा लिम्बूको हात र खुट्टामा समस्या भएपछि उपचारका लागि आउनुभएको थियो । तर अस्पतालले उहाँलाई टिकट दिएन । “उपचारका लागि आएको, अनिश्चितकालका लागि बन्द छ भन्यो”, अस्पताल जस्तो संवेदनशील क्षेत्र बन्द गरेर हुन्छ रु” उहाँले प्रश्न गर्नुभयो ।
 
“बन्द कुनै हालतमा हुनु हुँदैन, कस्तो जटिल अवस्थामा बिरामी आएका हुन्छन्, यसरी आन्दोलन गर्नु चाहिँ राम्रो भएन”, लिम्बूले थप्नुभयो । सोधपुछका लागि कतिपय बिरामीलाई काउन्टरबाटै आकस्मिक कक्षमा जान कर्मचारी सल्लाह दिँदै थिए ।
 
काठमाडौँको प्रसूति गृह, महाराजगञ्जस्थित शिक्षण अस्पताललगायत मुलुकका सरकारी अस्पताल चिकित्सकको आन्दोलनका कारण प्रभावित भएका छन् । 
 
यसअघि नै चिकित्सकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । माग सम्बोधन गर्ने सरकारी प्रतिबद्धता आएको भन्दै उनीहरुले गत फागुन १८ गते आन्दोलन स्थगन भएको घोषणा गरेका थिए । 
 
असमान तरिकाले चिकित्सक समायोजन गरेको लगायतका माग राख्दै यही चैत २० गतेको आकस्मिक भेलाले २१ गतेदेखि सञ्चालन गर्ने गरी चिकित्सकले आन्दोलनको घोषणा गरेका हुन् । आजमात्रै आन्दोलनका कारण स्वास्थ्य सेवामा गम्भीर असर परेको भन्दै नियमित काममा फर्कन वीर अस्पतालले गरेको आग्रहसमेत चिकित्सकले टेरेका छ्रैनन् ।
 
चिकित्सकले अस्पतालका भित्तामा ‘माफ गर्नुहोस्, मलाई बिरामी जाँच्न मन छ तर यतिबेला मै माथि अन्याय भएको छ’ भन्ने वाक्य लेखेर टाँसेका छन् । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीयता कार्यान्वयनका सम्बन्धमा सबै चिकित्सकलाई सङ्घअन्तर्गत राख्न नसकिने बताइसकेको छ । 
 
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा समेत नागरिकको अधिकारलाई नै कुण्ठित गर्ने गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ र अन्य प्रचलित कानूनका आधारमा कारवाही गर्ने चेतावनीसमेत दिएको छ । तर चिकित्सकले सामूहिक राजिनामा धम्की दिएका छन् । 
 
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चिकित्सकको आन्दोलनका विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग तथा विभिन्न सरोकारवाला निकायसँग आन्तरिक छलफल भइरहेको भन्दै चिकित्सकसँग कुनै छलफल नभएको जानकारी दिनुभयो । रासस