चिकित्सक आन्दोलनः
वीरमा प्रहरीले ताला फुटायो, बाहिरै उपचार !
-
चैत २७,२०७५ काठमाडौं ।
चिकित्सक आन्दोलनका कारण उपचार ठप्प भएपछि प्रहरीले वीर अस्पतालको ताला खुलाएको छ ।
बिभिन्न माग राखेर चिकित्सकले अस्पतालमा ताला लगाएका थिए ।
ताला खोलेपनि चिकित्सकले अस्पताल भित्र काम गरेका छैनन् । बाहिरै ओपीडी सेवा सञ्चालन गरेका छन् ।
सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अस्पताल परिसरमा ओपीडी सेवा सञ्चालन गरेको आन्दोलनरत चिकित्सकले बताएका छन् ।
अस्पताल आउने सबैलाई उपचार सेवा दिने तर भित्र नजाने अडानमा चिकित्सक छन् ।
चिकित्सकहरुले बाहिरै ओपीडी सञ्चालन गरेपछि विरामीहरुले लाइन लागेर चेकजाँच गराएका छन् ।
अस्पतालका टेवल, कुर्सी र उपकरणहरु अस्पतालबाहिर ल्याएर विरामी चेकजाँच गरेका उनीहरुले अस्पतालको रसिद, टिकट प्रयोग नगरी चिकित्सक संघकै लेटरप्याड र छाप प्रयोग गरेका छन् ।
यसअघि वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी विभागको टिकट काटेको थियो ।
चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।
प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेलगत्तै आन्दोलनरत डाक्टरले बाहिरैबाट सेवा सुचारु गरेका हुन् ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको जानकारी दिएका छन् ।
डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् ।
यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको कहिले अपरेसन हुने भन्ने ठेगान छैन ।
सबै सरकारी डाक्टरहरुलाई केन्द्रमा समायोजन गर्न माग गर्दै सरकारी डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेको पाँच दिन बितिसकेको छ ।
डाक्टरहरुको आन्दोलनबाट बिरामीहरुको बिचल्ली भएको छ । ताला फुटाउने क्रममा प्रहरीले केही डाक्टरहरुलाई नियन्त्रणमा लिने प्रयास गरेका थियो ।