Trending :
 

हावाहुरीबाट बारा र पर्सामा झण्डै दुई करोड रुपैयाँको क्षति

चैत्र २८,२०७५

-

चैत २८,२०७५ काठमाडौं ।
बारा र पर्सामा आएको हुरीबाट करिब ५१ करोडको क्षति भएको छ। कृषि तथा पशुपंछी विकास मन्त्रालयद्वारा बिहिबार सार्वजनिक तथ्यांकमा ५० करोड ७९ लाख ३२ हजार ७०० रुपैयाँ बराबर क्षति भएको उल्लेख छ ।
 
मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा उपसचिब गंगा आचार्यकाअनुसार चैत १७ गते आएको हुरीबाट कृषिको बालीतर्फ ५० करोड तीन लाख ४९ हजार ७०० रुपैयाँ र पशुपन्छीतर्फ ७५ लाख ८३ हजार रुपैयाँ बराबर क्षति भएको हो।
 
हुरीबाट बारा र पर्सा जिल्लाको १० नगरपालिका-गाउँपालिकाको २२ वटा वडाका किसानले कृषिबाली तथा पशुपन्छीतर्फ क्षति व्यहोरेका थिए। जसअनुसार बाराको कलैंया उपमहानगरपालिका १२ र १८, फेटा गाउँपालिका १,६ र ७, सुवर्ण गाउँपालिका १,४,५ र ८, प्रसौंनी गाउँपालिका ४, महागढीमाई नगरपालिका ७, देवताल गाउँपालिका ७, पचरौंता नगरपालिका २ र ७ र परवानीपुर गाउँपालिका ४ का किसानले कृषि तथा पशुपन्छीतर्फ क्षति व्यहोरेका हुन्।
 
त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका १८ र २२ तथा वौद्दारमाई नगरपालिका ४ का किसानले क्षति व्यहोरेका छन।
 
मन्त्रालयको प्रतिवेदनअनुसार हुरीबाट बारामा नौं सय ३६ घर र पर्सामा १२२ घर गरी एक हजार ५५८ घर पूर्ण रुपमा क्षति भएको छ।
 
त्यस्तै आंशिक रुपमा बारामा ९५५ र पर्सामा ३८७ वटा क्षति भएको छ। हुरीका कारण ११ जना महिला, १० पुरुष र ६ जना वालवालिकाले ज्यान गुमाएका थिए। 
 
बारा र पर्सामा गरी चार हजार पाँच सय ५२ हेक्टरमा लगाएको गहुँ, मकैं, दाल, तरकारी र फलफूलमा क्षति पुगेको छ। यसमध्ये एक हजार चार सय ३५ हेक्टरको पूर्ण रुपमा र तीन हजार एक सय १६ हेक्टरको वाली आंशिक रुपमा क्षति भएको उल्लेख छ।
 
जिल्लागत रुपमा बारामा एक हजार ९६ हेक्टरको बाली र  पर्साको तीन सय ३९ हेक्टरको बाली पूर्ण रुपमा नष्ट भएको छ भने आंशिक रुपमा बारातर्फ एक हजार सात सय २८ हेक्टर र पर्सातर्फ एक हजार तीन सय ८८ हेक्टरको वाली नष्ट भएको तत्थ्यांकमा उल्लेख छ।
 
मन्त्रालय अनुसार बारा र पर्सामा वच्चासहित एक सय १४ बाख्रा र खसी, १४ गाई र ३० भैंसी, १० हजार कुखुरा र तीन सय २६ हाँस हुरीका कारण मारिएका थिए। त्यस्तै एक सय ८२ बाख्रा र खसी, २९ गाई, ७३ भैंसी र १२ वच्चा घाइते भएका थिए।
 
कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले हुरीबाट पीडित बनेका किसान परिवारलाई दीर्घकालिन  रुपका जिविकोपार्जनका लागि पुनस्थापनाका प्याकेज ल्याउने गृहकार्य गरिरहेको जानकारी दिएका छन्।