बिरामीको ज्यान बचाउने दायित्व सरकार की डाक्टरको ?
एक सातादेखिको चिकित्सक आन्दोलन:बिरामीको ज्यान जोखिममा
-
चैत्र २९,२०७५ काठमाडौं ।
देशभरका सरकारी डाक्टरले आकस्मिक बाहेकका कक्षमा सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको छ ।
वृत्ती विकासमा असर गर्नेगरी समायोजन गरिएको भन्दै सरकारी डाक्टरले गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको हो ।
काठमाण्डौको वीर अस्पतालको प्राङगणमा टिकट बिनै विरामी जाँच गरे पनि शल्यक्रिया, डायलासिस लगायतका अति आवश्यक सेवा नपाउँदा बिरामीको ज्यानै जोखिममा परेको छ ।
तर आन्दोलनरत डाक्टरले भने आफ्नो माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन् ।
सरकारले पनि कर्मचारी समायोजनको काम सकिएकाले यसमा पुनविचार नगर्ने भन्दै आन्दोलन फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ ।
सरकारी डाक्टरको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि साथ दिएको छ ।
संघले ७२ घण्टाभित्र सरकारी डाक्टरको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।