सिंहदरवारभित्र वाणिज्य बैंकको शाखा स्थापना
-
चैत २९, २०७५ काठमाडौं ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी सांसदहरुले लामो समयदेखि संसदमा सिंहदरबारभित्र राष्ट्रिय बैंकको शाखा खोल्न माग गरिरहेका बेला वाणिज्य बैंकले २१८ औं शाखा खोलेको हो।
शाखाको उद्घाटन वैशाख १ गते हुने बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी टेकराज जोशीले जानकारी दिएका छन्। उनका अनुसार संघीय सचिवालय पुनर्निर्माण तथा व्यवस्थापन कार्यालयको भवनमा शाखा कार्यालयको उद्घाटन गरिने छ।
हाल सिंहदरबारभित्र भारतीय लगानीको एक मात्र एभरेष्ट बैंक छ। नेपाली बैंक राख्न माग गर्दै सांसदहरुले लामो समयदेखि आवाज उठाउँदै आएका छन्।
फागुन २९ को संसद बैठकमा नेकपाका नेता एवं सांसद भीम रावलले नेपाली बैंकलाई सिंहदरबारभित्र राख्न माग गरेका थिए।