Trending :
 

राष्ट्रिय गौरवका आयोजनाको प्रगति ओरालो तर्फ !

चैत्र ३०,२०७५

-

चैत ३०,२०७५ काठमाडौं ।
 
समृद्ध नेपालको नारा दिएको सरकारले राष्ट्रिय गौरवका आयोजनालाई द्रुत रुपमा अघि बढाउन सकेको छैन । 
 
अधिकांश आयोजनाको प्रगति नाजुक छ । यसप्रति संसदीय संसद अन्तरगतका समितिमा पनि चिन्ता प्रकट भएको थियो । 
 
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलासुस्तीबारे प्रश्न समेत उठाएको थियो ।
 
हाल २२ वटा राष्ट्रिय गौरवका आयोजना रहेकोमा अधिकांशको प्रगति न्यून छ भन्दा खासै फरक पर्दैन् । यो तथ्यलाई महालेखापरीक्षकको कार्यालयले पनि प्रमाणित गरेको छ ।
 
महालेखाले आफ्नो ५६ औं बार्षिक प्रतिवेदनमा राष्ट्रिय गौरवका आयोजनामा दर्ज भएका ठूला आयोजनाहरुको बेहालस्थितीबारे विषय उठान गरेको पाइन्छ । २२ आयोजनामध्ये कतिपयको काम प्रारम्भिक चरणभन्दा अगाडि बढेको देखिँदैन ।
 
यसप्रति न सरकारको ध्यान गएको पाइन्छ न त जिम्मेवार ठेकेदार कम्पनी नै । तर २२ आयोजनामध्ये ६ वटाको प्रगति ५० वा त्योभन्दा माथि छ ।
 
५० प्रतिशत वा त्योभन्दा बढि प्रगति भएका आयोजनामा बहुचर्चित र बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, लुम्बिनी क्षेत्र विकास कोष, बबई सिँचाई र सिक्टा सिँचाइ आयोजना रहेका छन् । 
 
महालेखाको प्रतिवेदनअनुसार अधिकांश आयोजनाको निर्माण कार्य वा त्यसमा भएका खर्च तोकिएकोभन्दा आधा पनि छैन ।
 
माथिल्लो तामाकोशी जलविद्युत आयोजना
निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पगति ९८ प्रतिशत छ । 
 
कहिले ठेकेदर त कहिले अन्य विविध कारणले आयोजना निर्माणमा ढिलाई भइरहेको छ । सरकारले धेरै पटक विद्युत उत्पादनको मिति सार्दै आएको छ । सरकारले आयोजनाबाट आगामी मंसीरभित्रै विद्युत उत्पादन गर्ने योजना बनाएको छ ।
 
आर्थिक बर्ष २०६७/६८ मा काम शुरु भएको यो आयोजना आर्थिक बर्ष २०७२/७३ भित्रै सक्नुपर्ने थियो । तर सरकारले भूकम्प र नाकाबन्दीपछि माथिल्लो तामाकोशी आयोजनाको निर्माणमा असर परेको बताउँदै आएको छ ।
 
समयमा काम नसकिएपछि आयोजनाको लागत र समय दुबै बढेको छ । आयोजनाको शुरुको लागत रु ३५ अर्ब भनिएको यो आयोजनाको लागत अहिले रु ४९ अर्ब रुपैयाँ लाग्ने भएको छ । 
 
तामाकोसी हाइड्रोपावरका सिइइो विज्ञान श्रेष्ठले आयोजनाको प्रगति ९८.७ प्रतिशत देखिए पनि पछिल्लो समय ठूला भारवहन भएका उपकरण ढुवानीमा कठिनाइका कारण समय लाग्ने बताउँछन् ।
 
मेलम्ची खानेपानी आयोजना
उता, सिन्धुपाल्चोकमा निर्माणाधिन मेलम्ची खानेपानी आयोजनाको हालत पनि उस्तै छ । मन्त्रीपिच्छे नै मेलम्चीबाट पानी आउने फरक फरक मिति तय भएपनि न अहिलेसम्म आयोजनाको निर्माण सकिएको छ न पानी काठमाडौं आउने कुनै नयाँ योजना नै । 
 
अहिले माथिल्लो तामाकोसी र मेलम्चीमात्रै होइन् मध्यपहाडी लोकमार्ग, पश्चिम सेती जलविद्युत आयोजना, हुलाकी राजमार्ग, बुढीगण्डकी, रेल्वे तथा मेट्रो विकास लगायतका ठूला अनि चर्चित आयोजनाहरूको प्रगति दयनीय रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
 
आर्थिक बर्ष २०५८/५९ देखि मेलम्ची खानेपानी आयोजना शुरु भएपनि आजसम्म पनि पूरा भएको छैन् । 
 
यो आयोजना आर्थिक बर्ष २०६४/६५ मा सकिनुपथ्र्यो । तर हालको अवस्था हेर्ने हो भने आयोजनामा सवा २५ अर्ब रुपैयाँ खर्च भई समष्टिगत भौतिक प्रगति ९६ प्रतिशत मात्रै छ ।
 
तर काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी कहिले खान पाउने हुन् त्यो भने अन्योलमै छ ।
 
फास्ट ट्रयाक आयोजना
मुलुकको सम्बृद्धिसँग जोडिएको अर्को आयोजना हो फास्ट ट्रयाक । यो आयोजना आगामी आर्थिक बर्ष २०७८/७९ मा सक्नुपर्ने बाध्यता छ ।
 
यो आयोजना आर्थिक बर्ष २०६४/६५ मा शुरु भएपनि आर्थिक बर्ष २०७४/७५ देखि नेपाली सेनाले काम गर्दै आइरहेको छ ।
 
आयोजना सम्पन्न गर्न साढे दुई खर्ब लागत अनुमान गरिएको छ । अहिले आयोजनाको वित्तीय प्रगति केवल साढे चार प्रतिशत मात्रै छ ।
 
निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल
निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल आर्थिक बर्ष २०७१/७२ देखि शुरु भएको हो । यो आयोजना आगामी आर्थिक बर्ष २०७८/७९ मा सम्पन गर्ने लक्ष्य सरकारको छ । 
 
महालेखाको प्रतिवेदनमा आयोजनाको कूल लागत सवा खर्ब रुपैयाँ तोकिए पनि हालसम्म ३० करोड रुपैयाँ खर्च भएको छ ।
 
सिक्टा सिँचाइ आयोजना
आर्थिक बर्ष २०७१/७२ मा सम्पन्न गर्ने योजनाका साथ सिक्टा सिंचाई आयोजना निर्माणको काम शुरु भएको हो । 
 
आयोजनाको शुरुको कूल लागत १२ अर्ब भएपनि निर्माण अवधि बढेपछि लागत बढेर २५ अर्ब पुगेको छ । प्रतिवेदनका अनुसार आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत मात्रै छ ।
 
समयमा आयोजनाको निर्माण सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मातहातका मन्त्रालयलाई निर्देशनसमेत दिइसकेका छन् ।
 
प्रधानमन्त्रीले अर्थमन्त्रालयलाई गौरवका आयोजनामा बजेट अभाव हुन नदिने आग्रह गरेका छन् । तर आयोजनाको काममा भने कहिले बजेट अभाव त कहिले स्थानीयबासीका मागका कारण ढिलाई भइरहेको छ । 
 
अहिले निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको बाँकी २ प्रतिशत काम सम्पन्न गर्न ८ अर्ब बजेट आवश्यक भएको छ ।