Trending :
 

भेरी-बबई आयोजनाः प्रधानमन्त्रीले मंगलबार टनेलको ब्रेकथ्रु गर्ने

बैशाख ०१,२०७६

-

बैशाख १, २०७५ सुर्खेत ।
राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण पूरा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार टनेलको ब्रेकथ्रु गर्ने कार्यक्रम तय गरिएको छ। 
 
भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत र प्रदेश ५ का बर्दिया र बाँकेका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहितको यो आयोजनामा नेपालमै पहिलो पटक सुरुङ निर्माणका लागि टनेल बोरिङ मेसिन (टिबिएम)को प्रयोग गरिएको छ। समयअगावै टिबिएमले १२.२ किलोमिटर सुरुङ निर्माण गरिसकेको छ। 
 
नेपालमै पहिलो पटक नयाँ प्रविधिबाट सुरुङ निर्माण भएकाले ब्रेक थ्रुका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको जनाइएकाृ छ ।
 
मंगलबार सुरुङ निर्माणको काम औपचारिक रुपमा सम्पन्न भएको घोषणा हुनेछ ।
 
भेरीको पानी सुरुङमार्फत बबईमा पुर्याउनेस्थल भेरी गंगा नगरपालिका–११ को चिप्ले अहिले बेहुलीझै सिंगारिएको छ। भेरी नदी किनारमा हेलिप्याड बनाइएको छ। 
 
 बबईदेखि चिप्लेसम्मको १२.२ किलोमिटरमध्ये पाँच मिटर मात्रै सुरुङ खन्न बाँकी छ। 
 
लक्ष्यभन्दा एक वर्ष अगावै सम्पन्न
 
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माणका लागि सिँचाइ विभागले चार वर्षको समयावधि दिएको थियो। 
 
चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक)ले सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्ष १२ दिनअघि नै सुरुङ निर्माणको काम सम्पन्न गरेको छ। 
 
२०७२ जेठ २१ गते काम सुरु गरेको कोभेकको निर्माण म्याद २०७६ चैत १५ गतेसम्म थियो । योसँगै नेपालमा टिबिएमको सफल परीक्षण पनि सम्पन्न भएको कम्पनीले जनाएको छ ।