आठौं राष्ट्रिय खेलकुदः जुडोमा मनीता श्रेष्ठलाई स्वर्ण
-
बैशाख २, २०७६ नेपालगन्ज ।
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १६ औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेस्रो भए ।
महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउँदै पहिलो भइन् । प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेस्रो भए । ७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन् । फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन् । प्रदेश ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेस्रो बने ।
पुरुष ६० केजीमुनि प्रहरीका उमेर मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई पन्छाए । एनआरएनका मोहन बम तथा प्रहरीका सुदेश दोङले तेस्रो स्थानमा चित्त बुझाए । ६६ केजीमुनि फाइनलमा प्रहरीका इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते । एपीएफका निर्दोष चलाउने तेश्रोमा सीमित भए ।