नेकपा एकता प्रक्रिया:

पार्टी एकिकरणमा बल्झिएको सकस !

बैशाख ०२,२०७६

-आस्थान्युज विशेष रिपोर्ट-

बैशाख २,२०७६ काठमाडौं ।
 
तत्कालिन एमाले र माओबादी एकता भएको ११ महिना पुरा भइसकेको छ । एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बाहेक अन्य पार्टीगत संरचना बन्न सकेको छैन । 
 
 पार्टी भित्र पदीय विवाद र तल्लो इकाइसम्मको शक्ति सन्तुलनमा कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको हो । दुबै पार्टीका शिर्ष नेताहरु एक ठाउँमा भएपनि कार्यकर्ता तहमा अझै दुई पार्टीकै भनोभावना ब्याप्त छ ।
 
नेताहरुले पार्टी एकताको शन्देश बेलाबेलामा दिएपनि कार्यकर्ताहरुलाई जिम्मेवार बाँडफाँड गर्न नसक्दा संगठनको गतिमा सिथिलता देखिएको छ ।
 
एकिकरणकै बेला नाम र झण्डाका बिषयमा विवाद निम्तियो । तत्कालीन एमाले र माओवादीले ०७४ असोज १७ मा ६ बुँदे सहमति गरेर आफूहरु एकताको लागि अघि बढेको सन्देश दिएका थिए ।
 
सुरुमा यो प्रक्रियामा नयाँ शक्ति पार्टी पनि थियो । तर १०औं दिनमा नै ऊ गठबन्धनबाट बाहिरियो । तत्कालिन एमाले र माओवादीले भने चुनावी गठबन्धन हुँदै एकता नै गरे ।
 
सुरुमा ०७५ बैशाख ९ मा घोषणा गर्ने भनिएको एकता जेठ ३ मा मात्रै सम्भव भयो । एकता संयोजन समिति तथा विभिन्न कार्यदलहरु बनाएर एकताको प्रक्रिया अघि बढाइएको थियो ।
 
तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले सामूहिक र कहिले गोप्य भेटवार्ता गर्दै सहमतिका सूत्रहरु पहिल्याएका थिए । 
 
०७४ फागुन ७ गते राति प्रधानमन्त्री निवास बालुवाटारमा ७ बुँदे सहमतिमार्फत एकीकृत पार्टीको नाम, पार्टीको निर्देशक सिद्धान्त लगायतका विषयहरु टुंग्याइयो ।
 
त्यसपछि पनि एकता प्रक्रिया कहिले सुस्त देखियो, कहिले तिब्र । कुनै समय मुख्य नेताहरुले नै एकता नहुने भयो भन्ने खालका अभिव्यक्ति पनि दिए । तर, अन्ततः एकता भएरै छाड्यो । तर ०७५ जेठ २ गते अचानक समाचार सार्वजनिक भयो– जेठ ३ मै एकता हुँदैछ ।
 
जेठ ३ गते बालुवाटारमा एकता संयोजन समितिको बैठक बस्यो । बैठकले पार्टी एकताको निर्णयलाई अनुमोदन गर्यो । त्यसपछि बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठक र प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्यो ।
 
दुवै पार्टीले आफ्ना समिति भंग गरे । फेरि बालुवाटारमा दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठकमा ओलीले पार्टी विघटनको औपचारिक घोषणा गरे । बैठकमै एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरे ।
 
बैठकले आठबुँदे निर्णय पनि पारित र्गयो। पार्टी एकीकरण गरिएको, चुनाव चिह्न सूर्य भएको, केन्द्रीय समिति ४ सय ४१ सदस्यीय भएको, दुवै पार्टीको सम्पत्ति र दायित्व एकीकृत पार्टीमा सारिएको लगायतका निर्णयहरु गरिएका थिए ।
 
त्यसपछि ओली, प्रचण्ड तथा माधव नेपाल, वर्षमान पुन लगायतका नेताहरु निर्वाचन आयोग गएर नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइनसहितको) नाममा पार्टी दर्ता गरे ।
 
पछि यो नाम परिवर्तन गरियो । पार्टीको विगतको भूमिका, संघर्षलाई सम्झिँदै कम्युनिष्ट पार्टी एकताको आवश्यकता पुष्टि गर्ने प्रयास गरे । नाम परिवर्तन गरेर नेकपा भएपछि संगठन बिस्तारलाई तिव्रता दिने भनिएपनि अहिलेसम्म कुनै गति लिन सकेको छैन ।
 
एकता प्रक्रिया लम्बिंदा जिल्ला जिल्लामा संगठन चुस्त ढंग अगाडी बढ्न सकेको छैन । कस्को जिम्मेवार केहो र कस्ले भनेको आदेशलाई पालना गर्ने बिषयमा कार्यकर्ताबिच अन्योल बढेको छ ।
 
पहिलेका दुवै पार्टीका भातृसंगठनहरु आफ्नै ढंगले सक्रिय छन् । यसले एकता पार्टीमै गतिरोध निम्तिएको एकथरि नेताहरुले बताउँदै आएका छन् । पार्टीको प्रणाली र कार्यक्रममा एकरुपता नआउँदा जिल्ला तहका नेताहरु जिम्मेवारविहिन अबस्थामा छन् ।