Trending :
 

नेपालले मलेसियालाई आठ विकेटले हरायो

बैशाख ०२,२०७६

-

बैशाख २,२०७६ काठमाडौं ।
आईसीसी अन्डर-नाईन्टीन एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।
 
मलेसियाले नेपालसामू ९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले पहिले ब्याटिङ गर्दै ९२ रन बनाएको हो । मलेसियाले ३३ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै उक्त योगफल तयार पारेको हो ।
 
नेपालले १३ ओभरमा दुई विकेट गुमाएर ९५ रन बनाउँदै जित हासिल गरेको हो ।
 
नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान रित गौतमले सर्वाधिक ३९ रन बनाए । अर्का प्रारम्भिक ब्याट्सम्यान पवन शर्राफ भने १९ रन बनाएर बाहिरिए । त्यस्तै आसिफ शेखले २९ रन बनाए ।
 
मलेसियाका लागि इज्जात डानियल फिक्रीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै मोहम्मद अमिरले १३  र हाकिम हरिसनले १० रन बनाए ।
 
नेपालका लागि बलिङतर्फ पवन शर्राफ र कुशल मल्लले तीन–तीन विकेट लिए । कमलसिंह ऐरीले दुई विकेट हात पारे भने सागर ढकालले एक विकेट लिए ।
 
तीनवटा म्याच खेलेको नेपालको यो दोस्रो जित हो । जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ ।