अन्तर्राष्ट्रिय गोजुरियो कराँते जेठ दोस्रो सातादेखी
-
बैशाख २,२०७६ काठमाडौं ।
नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता जेठ दोस्रो साता हुने भएको छ ।
राष्ट्रिय गोजुरियो कराँते दो संघ प्रदेश नम्बर ७ को आयोजनामा नवौं अन्तराष्ट्रिय गोजिरियो कराँते प्रतियोगिता जेष्ठ ९ गतेबाट सुरु हुने भएको हो ।
आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ ११ गतेदेखि चल्ने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटान सहभागी हुने जानकारी दिएको छ ।
भारतबाट मात्र ४ सय बढी खेलाडी सहभागी हुने बताएको आयोजकले एक हजारभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिएको छ । काता, कुमिते र टिम कुमिते गरी ३ विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।
यसैबीच राष्ट्रिय गोजुरियो कराँते दो संघ र राष्ट्रवादी विकासशील अभियानबीच मुख्य प्रायोजन सम्झौता भएको छ । संघका अध्यक्ष गणेश कार्की र अभियानका अध्यक्ष गणेश बहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अभियानले संघलाई ८ लाख रुपैयाँसहित खेल सामग्री प्रदान गर्नेछ ।
यस्तै कार्यक्रममा सहभागी भएका नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले प्रतियोगिताका लागि व्यक्तिगत १५ हजार रुपैयाँ आयोजकलाई हस्तान्तरण गरेका थिए ।
संघका महासचिव प्रकाश चन्दले प्रतियोगिताले राष्ट्रिय टोलीसम्म क्षमतावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।