Trending :
 

‘गाँजा हिल’ नयाँ पदमार्ग अध्ययन गर्ने घोषणा :

बैशाख ०३,२०७६

-

बैसाख ३, २०७६ धादिङ । 
महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा गरिएको छ ।
 
नयाँ वर्षको पहिलो दिन बैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो ।  
 
पर्यटनको प्रच्युर संभावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ साल तिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । 
 
इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो । 
 
मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई केन्द्रित गरी एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कंडेलले बताउनुभयो । 
 
ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । 
 
आदिबासी जनजाती तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने उहाँले बताउनुभयो । 
 
पाँच वटा स्थानीयतहलाई जोड्न तत्काल सडक निर्माण गर्नु पर्ने भएकाले प्रदेश सरकारसंग यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने बताउनुभयो । उहाँले विकासका लागि स्थानीयलाई कस्सिएर लाग्न अनुरोध गनुभयो । 
 
धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चनद्रागिरी चेपाङहिल पदमार्गलाई गाँजा ट्रेकिङ ट्रायल नाम राख्न प्रस्ताव गर्नुभएको छ । 
 
यस क्षेत्रमा अत्याधिक उत्पादन हुने गाँजाको महत्व बारे प्रष्ट पार्दै त्रिपाठीले पदमार्गको नामै गाँजा हिल राख्ने बताउनुभयो ।
 
उहाँले भन्नुभयो ‘गाँजा बेच्न र ओसारपसार गर्न प्रतिबन्धित छ, तर नाम राख्न त प्रतिबन्ध छैन नि !’ त्यसैले ‘गाँजा पदमार्गको रुपमा स्थापित गरौं ।’ 
 
गाँजालाई विकसित राष्ट्रहरुले लागुऔषध नभई मेडिसिन भनेर खुल्ला गरिसकेको त्रिपाठीले बताए ।