बिना टेण्डर र भरपाई खुल्लामञ्चमा सयौं सटर निर्माण, करोडौं घोटाला
-
वैशाख ३,२०७६ काठमाडौं ।
राजधानीको खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले कडा आपत्ति जनाएको छ ।
मंगलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे संघले पुरानो बसपार्कमा निर्माणाधिन ‘भ्यु-टावर’ सम्पन्न नहुँञ्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कको रुपमा प्रयोग गर्ने सहमति भएपनि अहिले आएर भूमाफियाहरुले ब्यापारिक प्रयोजनको थलो बनाउन खोजेको बताएको हो ।
बसपार्कलाई व्यवस्थित् र सुविधासम्पन्न बनाउन बन्दै केही वर्ष अगाडि काठमाडौं महानगरपालिका र जलेश्वर स्वछन्द विकोई विल्डर्स नामक कम्पनीका मालिक मनोज भेट्वालबीच सहमति भएको उल्लेख गर्दै संघले सो सम्झौताअनुसार काम नभएको खुलासा गरेको छ ।
कार्यक्रममा बोल्दै संघका महासचिव केशव अछामीले नेपालको मुटु मानिने खुलामञ्चजस्तो सार्वजनिक जग्गालाई भूमाफिया र दलालहरुले दोहन गरेको भन्दै गम्भिर आपत्ति जनाए ।
आफुहरुसंग भएका सहमतिलाई तोड्दैै आर्थिक तथा राजनैतिक पहँुच भएकाहरुलाई राज्यले करोडौँको चलखेल गर्दै सो क्षेत्रमा अतिक्रमण गराईरहेको उनको भनाई छ ।
निर्माणाधिन सटरहरुलाई प्रतिक्षालय बनाउने बहानामा बिना कुनै आधार करोडौं रकमको चलखेल गर्दे सरकारी सम्पत्तिको चरम दुरुपयोग भईरहेको उनले आरोप लगाए ।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य लिलाबहादुर दाहालले अहिलेको सरकार जनताको हो कि भुमाफियाहरुको भन्दै प्रति प्रश्न गरे ।
त्यस्तै नेपाल स्वरोजगार व्यापार श्रमिक संघका महासचिव राजकुमार श्रेष्ठले आफुहरुको पहिला तीन महिना लामो आन्दोलनको स्मरण गर्नपनि सरकारको ध्यानाकर्षण गराए ।
महानगरले ब्यवसाय गर्न टेन्डर निकाल्नुपर्ने भएपनि कुनै आधिकारिक बिल भरपाईनै नदिई व्यवसायीहरुबाट करोडौं रकम असुलिरहेको उनको भनाई छ । १० देखि १५ लाखसम्म खल्तीमा हाल्दा पसल चलाउन दिईरहेको भन्दै उनले बसपार्क सञ्चालनको सम्झौता नै गलत रहेको दाबी गरे ।
देशमा कुनैपनि नागरिकलाई अबैधानिक काम गर्न छुट नरहेको भन्दै उनले व्यवसायीहरुले महानगरसंग कुनै सम्झौता गरेको हो भने उक्त सम्झौता सार्वजनिक गर्नपनि उनले माग राखे ।