आठौं राष्ट्रिय खेलकुद: चन्द्रकलाको राष्ट्रिय कीर्तिमान कायम
-
बैसाख ५, २०७५ काठमाडौं ।
आठौं राष्ट्रिय खेलकुदको एथलेटिक्सको पहिलो दिन बिहीबार महिला सटपुटमा चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
बेलझुण्डीस्थित नवनिर्मित एथलेटिक्सको ट्रयाक एन्ड फिल्डमा नेपाल पुलिस क्लबकी चन्द्रकलाले १२.०४ मिटर सटपुट फाल्दै नयाँ कीर्तिमान रचेर राष्ट्रिय खेलकुदको स्वर्ण जितिन्। पुरानो कीर्तिमान पनि उनकै नाममा रहेको छ।
एक वर्षअघि वैशाखमै काठमाडौंमा सम्पन्न राष्ट्रिय टिम तयारी छनोटका क्रममा उनले ११.५६ मिटरको कीर्तिमान बनाएकी थिइन्।
राष्ट्रिय कीर्तिमान बनाएवापत् चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन्। राष्ट्रिय खेलकुद परिषदले व्यक्तिगततर्फ स्वर्ण जित्नेका लागि १५ हजार र राष्ट्रिय कीर्तिमानका लागि २५ हजार दिने घोषणा गरिसकेको छ।
यस इभेन्टमा प्रदेश ५ की संगीता अधिकारीले १०.५६ मिटर र एपीएफकी वसन्ती चौधरीले १०.०५ मिटरबाट क्रमशः रजत र कांस्य पदक जितेका थिए। १८ खेलाडीले सटपुटमा प्रतिस्पर्धा गरेका थिए।
१०० मिटर दौडको स्वर्ण एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरीले जितेका छन्। पुरुषतर्फ आशिषले ११.०० सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जित्दा प्रदेश ६ का यामसाजन सुनारले रजतमा चित्त बुझाए।
यामसाजनले ११.१० सेकेन्डबाट दोस्रो स्थान हात पारे। १०.३ सेकेन्डको ह्यान्डटाइमिङको राष्ट्रिय कीर्तिमान भने यामसाजनकै नाममा छ। आनन्ददेव चौधरीले ११.१५ सेकेन्डबाट कांस्य पदक जितेका छन्।