Trending :
 

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण

बैशाख ०६,२०७६

-

वैशाख ६,२०७६ काठमाडौं । 
उत्तर कोरियाले गएको नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । 
 
केसीएनएले उत्तर कोरियाली नेता किम जोङ-अनले बुधबार नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ । तर नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन । 
 
उत्तर कोरियाली नेता गएको वर्ष नोभेम्बरयता पहिलो पटक नयाँ हतियारको निरीक्षणमा सहभागी भएका हुन् ।
 
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षण गरेको हो ।
 
किमको भनाइ उद्धृत गर्दै केसीएनएले भनेको छ, “नयाँ हतियारले पिपुल्स आर्मीको क्षमता बढाउन ठूलो मद्दत गर्नेछ । सेनालाई आधुनिक हतियारबाट सुसज्जित तुल्याउन उत्तर कोरियाली वैज्ञानिकहरुले गरेको अनुसन्धान कार्यको म उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु ।”
 
विज्ञहरुले नयाँ विकसित हतियार छोटो दूरीको नियन्त्रित वा क्रुज क्षेप्यास्त्र रहेको बताएका छन् । हतियार परीक्षणको निरीक्षणका लागि किमको उपस्थिति संयुक्तराज्य अमेरिकामाथि दबाब सिर्जना गर्नका लागि भएको विज्ञहरुको भनाइ छ । 
 
कोरियाली अध्ययन केन्द्रका निर्देशक ह्यारी काजियानिसले अमेरिकाको जबर्जस्ती अडानबाट निराश भएको देखाउन हतियार परीक्षणमा उत्तर कोरियाली नेता किम स्वयं उपस्थित भएको हुन सक्ने बताएका छन् । रासस