कोलम्बोमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, ४ सय बढी घाइते
-
वैशाख ८, २०७६ कोलम्बो ।
श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी हालसम्म १३८ जनाको मृत्यु हुनुका साथै ४०० जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ । श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।
इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको हो।
कोलम्बोको कोचीकाडे गिरिजाघरमा भएको विस्फोटमा मात्रै ५० जनाको मृत्यु भएको बताइएको छ।
यस्तै बाट्टीकालोवास्थित चर्चमा भएको विस्फोटमा मर्नेको संख्या २५ रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। होटलमा भएको विस्फोटमा परी कतिजना हताहत भए भन्ने खुलाइएको छैन। यद्यपी मर्नेहरुमा ९ जना विदेशी रहेको सुरक्षा निकायले पुष्टि गरेको छ।
आक्रमणको जिम्म कसैले नलिएको पनि सुरक्षा निकायले जनाएको छ।